डिफेन्डिङ च्याम्पियन तुर्कमेनिस्तान पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । डिफेन्डिङ च्याम्पियन तुर्कमेनिस्तान ललितपुरमा जारी पाँचौं एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पराजित भएको छ।

बिहीबार लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा तुर्कमेनिस्तान किर्गिस्तानसँग सोझो सेटमा हारेको हो। २५–१४, २५–१५, २५–२२ को अंकले सहजै पराजित भएपछि तुर्कमेनिस्तानले तेस्रो उपाधि जित्ने आशा पनि समाप्त भयो। टोलीले पहिलो र गत संस्करणमा उपाधि जितेको थियो।

त्यस्तै अर्को सेमिफाइनल खेलमा उज्बेकिस्तानले माल्दिभ्सको चुनौती समाप्त गर्दै फाइनलमा पुगेको छ। शनिबार हुने फाइनलमा उज्बेकिस्तानले किर्गिस्तानसँग खेल्नेछ। दुवै टोलीले अहिलेसम्म खेल हारेका छैनन्। माल्दिभ्सले आयोजक नेपाललाई स्तब्ध तुल्याएर सेमिफाइनलको यात्रा तयगरेको थियो।

तर उज्बेकिस्तानले लगातार तीन सेट २५–२०, २५–१९, २५–२१ ले जितेपछि माल्दिभ्सको फाइनल पुग्ने लक्ष्य पूरा भएन। आज नेपालले अफगानिस्तानसँग पाँचौं स्थानको लागि खेल्नेछ। त्यस्तै माल्दिभ्सले तुर्कमेनिस्तानसँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

७ राष्ट्रको सहभागिता प्रतियोगितमा बंगलादेशले तीन खेल हारेर सातौं स्थान हासिल गरेको छ। एक खेल पनि नजित्नेमा नेपाल पनि पर्छ। नेपालले समूहका दुवै खेलमा हार बेहोरेको छ।