प्रतिष्ठाका लागि हत्या गर्ने दाजुभाइलाई क्षमा नदिने

0
Shares

इस्लामावाद, (एजेन्सी)।  आफ्नै दाजुभाइद्वारा हत्या गरिएका पाकिस्तानी सामाजिक सञ्जालका स्टारका अभिभावकहरुले आफ्ना छोराहरुलाई रिहाइ गर्न अदालतसमक्ष दिएको अपिल असफल हुन पुगेको छ।

हत्या गरिएकी क्वान्दिल बालोकका अभिभावकले अदालतसमक्ष आफ्ना छोरा वासिम र अस्लम शाहिनलाई आफूहरुले क्षमा दिएको बताएका थिए।तिनीहरुविरुद्ध प्रतिष्ठाका लागि गरिएको हत्या अभियोगमा मुद्दा चलिरहेको हो। सन् २०१६ को जुलाईमा २६ वर्षीया बालोकको घाँटी थिचेर हत्या गरिँदा पाकिस्तानलगायत सारा विश्व नै स्तब्ध भएका थिए।

उनका दाजु वासिमले शुरुमा आफ्नी बहिनीका कारण परिवारको इज्जत गएको तथ्य स्वीकारेका थिए। तर पछि उनले आफ्नो बयान फेरेका थिए। यस हत्याकाण्ड सिलसिलामा अन्य छ जना पुरुष्लाई पनि गिरफ्तार गरिएको थियो। उनकै अर्को भाइ बताइएको सातौं अभियुक्त भने अहिले फरार रहेका छन्।

परिवारको कुरा नमान्ने महिलाहरुलाई हत्या गरिनु पाकिस्तानमा सामान्य भइसकेको छ। पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग ( एचआरसीपी ) का अनुसार सन् २०१५ मा मात्र प्रतिष्ठामा आँच पुर्याएको आरोपमा झण्डै एक हजार एक सय जना महिला मारिएका थिए।

तर कानुनमा प्राविधिक त्रुटी रहेकाले पीडकलाई संजाय नहुने धेरै सम्भावना रहेको छ। यस्तो घटनामा हत्यासंग सम्बन्धित परिवारका अन्य सदस्यबाट क्षमा लिने प्रचलन रहेको छ।

तर बालकको सवालमा उनका अभिभावकहरुले पछि मात्र आफ्ना धारणा परिवर्तन गरेका थिए। उनका पिता मुहमद आजिमले आफ्नी छोरीका हत्याराहरुलाई मारिनुपर्ने र छोरा वासिमलाई पनि देख्नासाथ गोली हानिनुपर्ने बीबीसी उर्दूलाई बताएका थिए।

तर बिहीबार पञ्जावको मुल्तनस्थित अदालतमा उनले आफू र आफ्नी पत्नीले अरुलाई नभई आफ्ना छोराहरुलाई भने यस हत्याका लागि क्षमादान दिन चाहेको बताएका थिए। तर बुधबार पेश भएको उक्त अपिलबारे अदालतले असहमति जनाएपछि तिनीहरुविरुद्धको मुद्दा यथावत अघि बढ्ने भएको न्यायिक सूत्रले जनाएको छ।

बालोक पाकिस्तानमा किम कार्दासियानको उपनामले पनि चिनिन्छ। सामाजिक सञ्जालमा उनका हजारौं फलोयर रहेका छन्। उनले सामाजिक कुरीति तोड्ने चुनौती दिँदै सामाजिक सञ्जाल आपत्तिजनक तस्वीरसमेत अपलोड गर्ने गरेकी थिइन्।