बजार अनुगमनमा तातेको निजी क्षेत्र

0
Shares

नेपाल समाचारपत्र, स्याञ्जा।  सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायी अन्योलमा रहेका बेला वालिङ उद्योग वाणिज्य संघले वालिङमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कर नीतिबारे प्रशिक्षण दिएको छ। प्रशिक्षणसँगै वालिङ नगरपालिकाभित्र रहेका बजार क्षेत्रमा समेत संघले अनुगमन सँगै सुझाव प्रदान गरेको छ।
सरकारले नयाँ करनीति लागु गरेपछि व्यवसायीहरू अन्योल अवस्थामा रहेका छन्। सबै व्यवसायीलाई करको दायरामा ल्याउन सरकारले श्रावण १ गतेदेखि नयाँ कर नीति लागु गरेको छ।

यस सन्दर्भमा पाँच वटा टोली बनाएर बजारका विभिन्न क्षेत्रमा संघले अनुगमन गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो। ‘ग्रामीण क्षेत्रमा व्यवसायीलाई अझै करको विषयमा जानकारी छैन’, अध्यक्ष पौडेलले भन्नुभयो– ‘व्यवसायीलाई कर सम्वन्धी जानकारी र व्यापार व्यवसायबारे समस्या बुझ्न अनुगमन गरेका हौं।’

सरकारी निकायबाट अनुगमन हुँदा त्रसित बन्ने व्यवसायीलाई संघले अनुगमन गर्दा केही सहज पाएको अध्यक्ष पौडेलले बताउनुभयो। अनुगमनका क्रममा विना दर्ता पसल सञ्चालन गरिएको, एकै ठाउँमा सबै व्यापार गरिएको, मिति गुज्रिएको वस्तुको विक्रि वितरण गरेको भेटिएको अध्यक्ष पौडेलले बताउनुभयो। व्यवसायीलाई पसल दर्ता गर्ने, म्याद गुज्रेका सामाग्री बिक्री नगर्ने लगायतका सुझाव पनि अनुगमनमा दिइएको छ।
संघका अध्यक्ष पौडेलको संयोजकत्वमा बाँयटारी झलु·े, थानपाटा क्षेत्रमा अनुगमन गरिएको थियो। अध्यक्ष पौडेलसहित पत्रकारहरूको टोलीले झलु·ेमा गरिएको अनुगमनका क्रममा मिति गुज्रिएका वस्तु छुट्याएर राखी सम्बन्धित कम्पनीमा फिर्ता वा नष्ट गर्न आग्रह गरिएको पौडेलले बताउनुभयो। कतिपय व्यापारीहरूले दर्ता प्रक्रिया नबुझेकोले उनीहरूलाई दर्ता प्रक्रियाबारे जानकारी दिइएको छ।
वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको संयोजकत्वमा भुम्रे, भकुण्डे लगायतका बजारमा पुगेर अनुगमन तथा सुझाव प्रदान गरिएको छ। उपाध्यक्ष गिरमान गुरुङको संयोजकत्वमा रामबाच्छा, त्रियासी, खहरे, सिमलचौपारी, रत्नेमा अनुगमन गरिएको छ। वालिङ मेन बजारमा महासचिव केशरबहादुर खाँणको संयोजकत्वमा अनुगमन गरिएको छ।

जैसिपँधेरादेखि वालिङ मोडसम्म गरिएको अनुगमनका क्रममा स्थायी लेखा र दर्ताको महत्व नबुझेको भेटिएको छ। निजि क्षेत्र र सरकारी क्षेत्रबीच समन्वयात्मक भुमिका निर्वाह गर्दै व्यापारीलाई करको दायरामा ल्याउने प्रयास स्वरुप सचेत गराईएको महासचिव खांणले बताउनुभयो।

‘मुख्य बजारमा पनि समस्या देखियो’, महासचिव खाँणले भन्नुभयो– ग्रामीण क्षेत्रमा त अझै कति समस्या होलान्, सरकारी टोली र नीजि क्षेत्र मिलेर समन्वयात्मक तवरले बजार अनुगमन हुनुपर्ने देखियो। नीजि क्षेत्रबाट मात्रै भन्दा पनि सरकारी निकायबाट पनि व्यावसायीलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखियो महासचिव खाँणले भन्नुभयो।

कर नियमित तिरेर जरिवानाबाट बच्न सुझाव समेत दिइएको तथा करको हाउगुजीबाट समेत व्यापारीलाई स्पष्ट पार्नका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने महासचिव खांणको भनाई छ। त्यस्तै संघको विभिन्न चेतनामुलक कार्यक्रमले व्यवसाय दर्ता गर्नुपर्छ, व्यापार गरेपछि कर तिर्नुपर्छ भन्ने भावनाको विकास भएको अध्यक्ष पौडेलले बताउनुभयो।