महानगरभित्र ३३ मेलमिलाप केन्द्र स्थापना हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं काठमाडौं महानगरका हरेक वडा १÷१ वटा र केन्द्रमा १ गरी जम्मा ३३ वटा मेलमिलाप केन्द्र स्थापना हुने भएकाछन्।  यसका लागि मानव संसाधन महाशाखाले ३ चरणमा सञ्चालन गरेको तालिमबाट ७४ जना ‘मेलमिलापकर्ता’ नियुक्त भएकाछन्।

त्यस्तै अन्यत्र तालिम लिएका ६० जनाले महानगरले सञ्चालन गर्ने मेलमिलाप केन्द्रमा काम गर्न सूचीकृत हुनका लागि निवेदन दिएकाछन्। कामपाका अनुसार हालसम्म १ सय ३४ जना मेलमिलापकर्ता महानगरमा काम गर्ने गरी तयार भएका छन्।

मेलमिलापकर्तालाई मेयर विद्यासुन्दर शाक्यले शपथ ग्रहण गराउनुभएको थियो। तालिम प्राप्त मेलमिलापकर्तालाई सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरप्रसाद खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

मेयर शाक्यले भन्नुभयो– ‘अहिले मेयर, उपपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै इजलासबाट न्यायिक समाधान खोज्ने काम गरिरहेका छौं। मेलमिलापकर्ताको सक्रियताले हामीकहाँआउने मुद्दाको चाप कम हुनेछ। यसबाट नागरिकको, मुद्दा मामिलामा हुने समय र सम्पत्तिको खर्च घट्छ।

कार्यक्रममा बोल्दै न्यायाधीश खतिवडाले समाजमा सृजना भएका विवादमध्ये १५ प्रतिशत मात्र अदालतमा पुगेको तथ्य उल्लेख गर्दै बाँकी ८५ प्रतिशत मुद्दा सम्बन्धित निकायमा नपुगी समस्याग्रस्त अवस्थामा रहेको बताउनुभयो।

उपमेयर हरिप्रभा खड्गीले कानुनबमोजिम प्राप्त गरेका जिम्मेवारीमध्ये न्यायिक समितिको काम महत्वपूर्ण रहेको बताउँदै यसले महानगरको न्यायिक समितिमा आउने विवादलाई वडा तहमै समाधान गर्ने दाबी गर्नुभयो।

नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीका अनुसार मेलमिलाप परिषद्बाट स्वीकृत पाठ््यक्रममा आधारित मेलमिलाप सम्बन्धी तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउछन्।

कार्यक्रममा कामपा मानव संशाधन विकास महाशाखाका प्रमुख बखतबहादुर साउदले तालिममा मेलमिलाप गर्ने तरिकाबारेमा जानकारी गराउनुभएको थियो। तालिममा वडाको सिफारिसमा प्रत्येक वडाबाट १–१ जना पुरुष र महिलालाई सहभागी गराइएको थियो।

मेलमिलापसम्बन्धी पुस्तक सार्वजनिक
काठमाडौं महानगरपालिकाका कानुन महाशाखा प्रमुख वसन्त आचार्यद्वारा लिखित मेलमिलाप सम्बन्धी पुस्तक सार्वजनिक भएको छ। सर्वोच्च अदालतका न्यायाधीश एवम् मेलमिलाप परिषद्का अध्यक्ष ईश्वरप्रसाद खतिवडाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, महानगरका काुननी सल्लाहकार टीकाराम भट्टराईले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो।

पुस्तकमाथि टिप्पणी गर्दै मेलमिलाप परिषद्का अध्यक्ष खतिवडाले अनौपचारिक पद्धतिबाट न्याय वितरणका लागि काम थालेको १५ वर्ष भयो। यस अवधिमा मेलमिलापकर्ताका लागि उपयुक्त श्रोत सामाग्री थिएनन्। यो पुस्तकले त्यो अभाव पूरागर्ने बताउनुभयो।

महानगरका कानुनी सल्लाहकार भट्टराईले पुस्तकमा महानगरले न्याय सम्पादन गर्दा अबलम्बन गरेका विधिलाई समावेश गरिएकोले यो जनप्रतिनिधि, कर्मचारी सबैका लागि संग्रह गर्नुपर्ने पुस्तक भएको बताउनुभयो।

लेखक आचार्यले पुस्तक तयार पार्न २ वर्ष लागेको र यसका लागि करिब ५० भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुस्तक र नजिरको अध्ययन गरेको जानकारी दिनुभयो। विवाद हरेकसँग छन्। ती विवादलाई आफ्नै तहमा कसरी समाधान गर्न सकिन्छ, यसलाई सूक्ष्म ढंगबाट प्रस्तुत गर्न प्रयास गरेको छु –उहाले भन्नुभयो।