एक हप्ताभित्र सडक सुधारको काम गर्न चेतावनी

0
Shares

नेपाल समाचारपत्र, दोलखा । स्तरोन्नतिका लागि भन्दै लामोसाँघु चरिकोट सडक भत्काएपछि यातायात सुचारु हुन नसक्दा दैनिक सयौं यात्रीले सास्ती ब्यहोर्दै आएको भन्दै बुधबार दोलखाका सरोकारवालाले सडक सुधार र स्तरोन्नति छिटो सम्पन्न गराउन प्रशासनलाई गुहारेका छन्।

दोलाखाका नागरिक समाज, पत्रकार, उद्योगी, होटल व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसंग भेटी सडक सुधार र स्तरोन्नतिको काम शुरु गराउन पहल गरिदिन आग्रह गरेका हुन्।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई सडक सुधारका लागि पटकपटक आग्रह गर्दासमेत चासो नदिएकाले स्थानीयको सहयोगमा आफूहरूले सडक आसपास रहेको कच्चा पर्दाथ सडकको खाल्डाखुल्डी पुर्न प्रयोग गर्ने चेतावनी दिएको दोलखा उद्योग बाणिज्य संघका सदस्य एवं होटल व्यवसायी गणेशविक्रम शाहीले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सम्बन्धित निर्माण कम्पनीले शुक्रबारबाट काम शुरु गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुहुँदै सडक अनुगमन गर्न आउँदा काम शुरु भएको नपाइए आवश्यक कारबाही गर्ने चेतावनी निर्माण कम्पनीलाई दिएको बताउनुभयो।

 

उहाँले कम्तिमा भदौ १० गतेसम्म पर्खन नागरिक प्रतिनिधिलाई आग्रह गर्नुभयो। ‘त्यसपछि पनि काम नभए म आफैं पनि तपाईहरूसंग सहभागी हुन्छु’ –प्रमुख जिल्ला अधिकारी रिजालले सरोकारवालाहरूसँग भन्नुभयो।

 

उहाँले कम्तिमा भदौ १० गतेसम्म पर्खन नागरिक प्रतिनिधिलाई आग्रह गर्नुभयो। ‘त्यसपछि पनि काम नभए म आफैं पनि तपाईंहरूसंग सहभागी हुन्छु’ –प्रमुख जिल्ला अधिकारी रिजालले सरोकारवालाहरूसँग भन्नुभयो।

भारतीय एक्जिम बैङ्कको झण्डै १ अर्ब २४ करोड ऋण सहयोगमा ५५ किलोमिटरको लामोसाँगु–चरिकोट सडक विस्तारकोे काम शुरु भएको हो। लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रमअन्र्तगत लामोसाँगु–मूडे २५ किलोमिटर र मूडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो।

दुई वर्षभित्र दुबै खण्डको काम सम्पन्न गर्नुपर्ने भए तापनि अवधि सकिएर एक वर्ष नाघिसक्दासमेत दुबै कामको प्रगति ७० प्रतिशत पनि हुन नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले ती कम्पनीहरूलाई हर्जाना तिराएको छ।

लामोसाँगु–मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले र मूडे–चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धमेन्द्रकुमार झाले नेपाल समाचारपत्रलाई बताउनुभयो।