चौखुडा र वनारसीधाममा ज्योतिर्लि· स्थापना हुने

0
Shares

नेपाल समाचापत्र, बैतडी। बैतडीमा रामेश्वरम् र विश्वनाथ ज्योतिर्लिङ स्थापना हुने भएको छ। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार जिल्लाको पाटन नगरपालिका–६को चौखुडामा रामेश्वरम् र पाटन–३ को वनारसीधाममा विश्वनाथ ज्योतिर्लिङ स्थापना गर्न लागिएको हो।

पाताल भुवनेश्वर धामबाट बग्ने रामगंगा नदी (बगडी) र सरयू नदी (सुर्नया) को संगम स्थलमा चौखुडा र पौराणिक सरयू(सुर्नया) नदीको किनारमा बनारसी धाम पर्दछ।

नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन र अनुसन्धान गरेअनुसार ज्योतिर्लिङ स्थापना गर्ने कार्य शुरू गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिनुभयो।

दुवै स्थानमा ज्योतिर्लिङ स्थापनाका लागि मन्दिर निर्माण गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको उपस्थितीमा शिलान्यास गरिएको छ। मन्दिर निर्माणका लागि विश्वनाथ धाममा धनीदत्त भट्ट र रामेश्वर धाममा रामसिंह बिष्टको अध्यक्षतामा समिति गठन गरिएको छ।

बैतडीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि ज्योर्तिलिङ स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगतगुरु देवाचार्यले बताउनुभएको छ।

पुराणमा लेखिएका कुराको बारेमा जानकारी नहुँदा र यहाँका धार्मिक स्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेको उहाँले बताउनुभयो।

स्थानीय तीर्थस्थलको महिमाका बारेमा पूराणमा उल्लेख गरिएको भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको जगतगुरुको भनाइ छ। तीर्थाटनका लागि हजारौं रुपियाँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकोले आफ्नै ठाउँका तीर्थस्थलको पहिचानका लागि आफूले अभियान चलाएको देवाचार्यले बताउनुभयो।