माङ्सेबुङ्ग र चुलाचुली गाउँपालिकाद्धारा सोलार वितरण

0
Shares

गणेश घिमिरे, इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका २ का बासिन्दालाई गाउँपालिकाले सोलार बत्तिको सेट प्रदान गरिएको छ । माङसेबुङ वडा नम्बर २ को सुम्साजुङ टोलको १२ घरपरिवारलाई ५० वाटको सोलार बितरण गरिएको हो । केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको देउमाई खोला किनारमा बसोबास गर्ने विपन्न घरपरिवारलाई छनौट गरि सोलार बत्तिको सेट प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुबेदीले बताउनुभयो ।

स्थानीय तहको चुनाव अघि केन्द्रिय प्रशारण लाइन नपुगेको माङसेबुङ गाउँपालिकालाई विद्युतिकरण गर्न गाउँपालिका र नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले सहकार्यमा काम गरिरहेका छन् । पहिलो चरणमा १२ परिवार मध्ये ७ परिवारलाई सोलार बत्तिको सेट बितरण गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो ।

यता चुलाचुली गाउँपालिकामा बसोबास गर्ने दलित परिवारलाई सोलार बत्तिको सेट प्रदान गरिएको छ । चुलाचुली गाउँपालिकामा बसोबास गर्ने ३ सय ६५ दलित परिवारमध्ये अति विपन्न २ सय ५ परिवारको छनौट गरि सोलार बत्तिको सेट प्रदान गरिएको हो ।

दलित समुदायका अगुवाको समितिले छनौट गरेका घरपरिवारमा सोलार बत्ति जडानका लागि गाउँपालिकाले सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसका आधारमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले सबै परिवारमा सोलार बत्ति जडानको काम गरिरहेको छ । केन्द्रले प्राविधिक टोली खटाएर सोलार बत्ति जडान गरेको चुलाचुली गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।

अति विपन्न परिवारको घरमा जडान गरिने सोलार सेटको खरिद, ढुवानी र जडान वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नै गरेको हो ।