राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा भदौ २३, २४ र २५ गते

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौ २३, २४ र २५ गते सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्ने भएको छ । यात्राको तयारीका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गको उपस्थितिमा एवं राष्ट्रिय स्वाभिमान यात्रा मुल आयोजक समितिका संयोजक सुशील कुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकमा यात्राको तयारीका लागि सर्वेक्षणमा गएको प्रदेश नं. ३ का प्रमुख विक्रम बहादुर थापा नेतृत्वको टोलीका बीच तयारीबारे व्यापक छलफल भएको थियो ।

उक्त बैठकमा सर्वेक्षण टोलीका सदस्य एवं पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले उक्त जिल्लाहरुमा स्वाभिमान यात्राको तयारी सन्तोषजनक रहेको जानकारी दिँदै पाँचवटै जिल्लाहरुमा विभिन्न तयारी सम्बन्धि उपसमिति गठन गरिएको प्रतिवेदन पेश गर्नु भएको थियो । सर्वेक्षण टोलीमा पार्टीका केन्द्रीय सदस्यहरु विजय खडका, लालध्वज लामा, उज्ज्वल विक्रम थापा, दिनेश कार्की, सरश्वती श्रेष्ठ, प्रदेश ३ का सांसद रिता माझी लगायतको सहभागिता रहेको थियो ।

राप्रपाले राष्ट्रिय स्वाभिमान यात्राको तेश्रो चरण अन्तर्गतको तीन दिने यात्रा भदौ २३ गते विहान सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट सुरु भएर काभ्रे जिल्लाको बनेपामा २५ गते साँझ समापन हुँदैछ ।