बन्द रहेको सडक चल्यो

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । मनसुन शुरु भएपछि दुई महिना देखि बन्द रहेको मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्डमा निर्माण कार्य सुचारु भएको छ ।

स्तरउन्नतीको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत खण्डमा रोकिएको काम निर्माण कम्पनीले शनिबार देखि सुचारु गरेको हो ।

सडक निर्माण रोकिँदा खाडलमा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा रहको भन्दै निर्माणको काम तत्काल शुरु गर्न चौतर्फी दबाब सृजना भएको थियो । दुई महिना देखि सडक निर्माणको काम रोकिदा पहिरो र अन्य कारणले यात्रुहरु जोखिम मोलेर यात्रा गर्दै आएका थिए ।

पर्वत खण्डको निर्माण कार्य गदै आएको लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार सडक निर्माणको काम चार ठाउँबाट शुरु गरिएको छ । पर्वतको प्रबेशद्वार बेतीनी, आम्बोट भद्र खोला, दोबिल्ला र अर्मादी गरि चार स्थानमा कामदार झारेर नाली, टेवा पर्खाल लगाउने र पहिरो पन्छाउने काम शुरु गरिएको छ । ‘मनसुन शुरु भएपछि रोकिएको काम सुचारु गरेका छौ’ प्रोजेक्टर म्यानेजर भुसालले भन्नुभयो ‘अब सबै ब्यबस्थापन गरेर तोकिएकै अबधीमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्यमा छौ’ ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । कम्पनीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरेपनि अहिले सम्म ५० प्रतिशत जति काम भएको छ । स्टक्चरको काम २० प्रतिशत बाँकी रहेको र १५ किलोमिटरमा नाली बनाउन बाँकी रहेको प्रोजेक्ट म्यानेजर भुसालले बताउनुभयो । नालीको काम कार्तिक महिना सम्म सक्ने लक्ष्य रहेको उहाँको भनाई छ । ‘भदौ १५ पछि बाँकी रहेका स्टक्चरको काम संगै कालोपत्रे गर्ने कार्य पनि अघि बढाउँछौ’ उहाँले भन्नुभयो। पर्वत खण्डमा असार सम्म कम्तीमा १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेपनि अहिले सम्म कालोपत्रे हुन सकेको छैन । मालढुंगाबाट शुरु भएको कालोपत्रे पनि फेरी शुरु गर्नुपर्ने अबस्थामा रहेको छ ।

यसैबिच सडक निर्माण कार्य सुचारु गराउन नेपाली कांग्रेसले पनि प्रमुख जिल्ला अधिकारी मार्फत दबाब दिएको छ । कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीको नेतृत्वमा गएको समुहले सडक सुचार गराउन प्रजिअ कल्पना घिमिरे नेपालको ध्यानाकर्षण गराएको छ । यसअघि प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले अबरुद्ध निर्माण कार्य सुचारु गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो । बर्षा याममा रोकिएको सडक निर्माण कार्य सुचारु गरिने आयोजना प्रमुख आशिष थापाले जानकारी दिनुभयो ।