भूकम्प पिडितले लालपुर्जा पाउने

0
Shares

न्युज अफ नेपाल, गोरखा । सरकारले लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीका घर सम्बन्धित लाभग्राहीको नाममा पास गरिदिने भएको छ । व्यक्तिको नाममा लालपूर्जा दिने भएपछि एनआरएनएले बनाएको ५७३ घर ब्यक्तिको स्वामित्वमा रहने वा नरहने अन्यौल हटेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगतको जिल्ला जग्गा दर्ता समितिको बैठकले सम्बन्धित लाभग्राहीको नाममा घर पास गरिदिने निर्णय गरेको हो । बैठकले दशबर्षसम्म बिक्री गर्न नपाउने शर्तमा सम्बन्धित घरधनीलाई लालपुर्जा दिने निर्णय गरेको समितिका सदस्य सचिव एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले जानकारी दिनुभयो ।

‘कार्यविधि अनुसार दश बर्षसम्म सम्बन्धित लाभग्राहीको नजिकका हक लाग्नेको नाममा नामसारी गर्न सकिन्छ, तर बिक्री गर्न पाईदैन’, उहाँले भन्नुभयो ।

 

लाप्राकका बासिन्दालाई स्थानान्तरणका लागि गुप्सीपाखामा निर्माणाधीन घरहरुको कित्ताकाट भएपनि कुन घर कसको भन्ने एकिन भएको छैन । अब घरधनी एकिन गरी लालपुर्जा दिने प्रक्रिया सुरु भएको जिमाली प्रमुख आचार्यले बताउनु भयो ।

‘लालपुर्जा प्राप्तिका लागि अब वडा कार्यालयले स्थानीयको निवेदन संकलन गर्छ’, उहाँले भन्नु्भयो, ‘वडा कार्यालयबाट गाउँपालिका हुँदै जिमालीमा आएका सिफारिस हामी रुजु गर्छौँ । स्थानान्तरण सहितको नक्सा नापीले बनाउँछ । सबै प्रक्रिया पूरा गरेर डकुमेन्ट प्राधिकरणमा पठाउँछौँ । त्यहाँबाट निर्णय भएपछि सम्बन्धित ब्यक्तिले पाउँछन् ।’

बैठकले एकीकृत बस्तीमा सामुदायिक भवन, विद्यालय र स्वास्थ्य चौकीको लागि आबश्यक जग्गा माग गर्दै मन्त्री परिषदमा सिफारिस गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा सहभागी धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र वडा नं ४ का अध्यक्ष राज गुरुङले एकीकृत बस्तीमा बनेका संरचना उपयुक्त नभएको गुनासो गर्नुभएको थियो । उहाँहरुले गुप्सीपाखामा बस्ने लाप्राकीलाई जिविकोपार्जनमा सुधारका लागि भेडापालन, अल्लो प्रशोधन केन्द्र लगायतका क्षेत्रमा सहयोग आबश्यक रहेको बताउनु भयो ।

बैठकमा सहभागी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य धुब्र शर्माले एनआरएनएलाई सम्झौता अनुसार बस्ती निर्माणका लागि निर्देशन दिने र भूकम्पपीडितका लागि जिविको पार्जनमा सघाउने कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो । जग्गा दर्ता समितिका संयोजक एवमं प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

गत जेठ २० गते बसेको प्राधिकरणको बैठकले भूकम्प प्रभावितको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी कामको समन्वयको जिम्मा जिमालीलाई दिएकाले कार्यविधि अनुसार काम थालेको जिमालीका प्रमुख बताउनुभयो । तीन महिनाभित्रमा गुप्सीपाखामा स्थानान्तरण गरिने घरधनीलाई लालपूर्जा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाई छ । गुप्सीपाखाको १८ दशमलब ३ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । नमुना वस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाईएको छ ।