भक्तपुरमा पहिरो, ५ घर जोखिममा

संचार मन्त्री सहितको टोलीले गर्यो स्थलगत अवलोकन


पुष्कर बुढाथोकी, भक्तपुर । सुचना ,संचार तथा प्रबिधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आज भक्तपुरको लोकन्थलीमा गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ ।स्थलगत अवलोकन पछि संचार मन्त्री बास्कोटाले पहिरोबाट थप क्षती हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरी जोखिममा परेका घर ,सडक र सो क्षेत्रको सुरक्षाको लागि तत्काल र दिर्घकालिन काम गर्ने बताउनुभयो।पहिरो गएको स्थानको सांसद महेश बस्नेत,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट,मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, लगायत जिल्ला बिपद् ब्यबस्थापनका सदस्य ,जनप्रतिनिधि,सुरक्षा प्रमुख ,पत्रकार सहितको टोलीले बिहान अवलोकन गरेको छ ।

पहिरोका कारण पाँच यहाँका घर जोखिममा परेका छन् भने एक घरलाई खालि गराइएको छ । पहिरोले लोकन्थलीको सो क्षेत्रको सडक समेत अवरुद्ध भएको छ । थप क्षति नहोस् भनेर तीनै तहका सरकारको समन्वयमा जोखिममा परेका घर र परिवारलाई सुरक्षित ब्यबस्थापन स्थानीय स्तरमै गरिएको र थप क्षति नहोस् भनेर अहिले सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथ गरिएको सांसद महेश बस्नेतले बताउनुभयो ।

उहाँले सो क्षेत्रमा पहिरोको जोखिम दिर्घकालिन रुपमा समाधान गर्न योजनाको पहल प्राथमिकता साथ गर्ने बताउनुभयो ।आज बिहान पौने २ बजेतिर पहिरो खसेको हो ।मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले घर भने कुनै पनि नचर्किएको बताउनुभयो ।

पानी ट्यांकी निर्माणमा सावधानी नअपनाउँदा पहिरो गएको र घरहरु जोखिममा परेको स्थानीय बताउँछन् । पहिरोका कारण सो स्थानको बाटो भत्किएर पैदल हिँडडुल गर्नसमेत गाह्रो भएको छ ।

जहाँ पानी ट्यांकी बनाउने भनेर खनिएको छ, त्यो ठाउँ भिरालो छ । वडा अध्यक्ष खड्काका अनुसार अघिल्लो वर्ष पनि त्यहाँ डेढ फिट भत्किएको थियो । त्यसलाई सामान्य मर्मत गरियो । तर राम्रोसँग मर्मत नगरेकाले अहिले पहिरो गएको वडा अध्यक्ष खड्काको भनाई छ ।