जनप्रतिनिधिको भरमा रकम असुल्दै, ३ पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज । छिमेकी देश भारतीय सवारी साधनसँग अवैध रुपमा रकम असुल्ने बिजय यादब, प्रदिप गुप्ता र मजमिल मियाँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले वीरगन्ज १७ अलौमा रहेको एकीकृत चेकजाँच चौकी (आईसीपी) बाट जाँच पास भई निस्केका भारतीय गाडीलाई रोकेर अवैध रुपमा रकम असुलेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिह राठौरले जानकारी दिनुभयो। पक्राउ पर्नेमा वीरगन्ज १७ अलौ निवासी यादब, गुप्ता र मियाँ रहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । पक्राउ परेका तीनै जनाले आईसीपी भन्सारबाट जाँच पास भई निस्केका भारतीय नम्बरका गाडी चालकलाई आफूहरू गार्ड रहेको बताउँदै चालकहरूसँग प्रति गाडी पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म असुल गरेको प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक राठौरले एकीकृत चौकी आईसीपीबाट छुटेका भारतीय सवारी साधनलाई बीच सडकमा रोकेर परवानिपुर, जितपुर, सिमरा र पथलैयासम्म पुर्याईदिने भन्दै जबरजस्ती रकम असुल्दै गरेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई अपराध मुद्दामा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप्प गराइ आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ परेका बिजय यादव वडा नम्बर १७ का वडाध्यक्ष सुखरानी देवी यादवका देवर रहेको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष सुखरानी रहेपनि उनका श्रीमान बिरेन्द्र यादवले वडा समिती कार्यालय चलाउँदै आएकोले दाइको पावरको धाक देखाउँदै भारतीय गाडीसँग अबैध रकम असुली गर्दै गरेको श्रोतले जनाएको छ । यसैबीच पर्सा प्रहरीले केही घरेलु मदिरा पनि यात्रु बाहस बसबाट बरामद गरेको जनाएको छ ।