छुट्टाछुट्टै स्थानबाट १ सय १९ किलो गाँजासहित ७ पक्राउ

0
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका १ हात्तिसारबाट काठमाडौं सिनामंगल घर भएका २५ वर्षीय साजन देवकोटालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । करिब २५ ग्राम र १० ग्राम पोल्याण्ड सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरबाट अवैध लागूऔषध गाँजा करिब ८५ केजी सहित सप्तरी डाकनेश्वरी गाउँपालिका ९ बस्ने ४० वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित राकसिराङ गाउँपालिका ३ चरिखेतबाट सोमबार राति पक्राउ गरेको हो ।

यस्तै हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब २५ केजी सहित ४ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय मुकेश सहनी, सोही ठाउँ बस्ने २५ वर्षीय राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र पर्सा बिन्दा बाँसीनी गाउँपालिका ५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एचआर ५१ एल ५२४१ नम्बरको कार जाँच गर्ने क्रममा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी सहित कास्की माछापुच्छ्रे नगरपालिका ८ बस्ने १७ वर्षीय सन्जोक सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग।१ ख ७७०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा स्याङ्जा चिन्नेबास बस्ने १९ वर्षीय नयन थापा मगर र कास्की लेखनाथ महानगरपालिका(९ बस्ने १९ वर्षीय संगित बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।