पूर्ण जेष्ठ नागरिक बीमित वडा घोषणा

0
Shares

बैतडी, (नेस)।  बैतडीको दशरथचन्द नगरपालिका–५ लाई पूर्ण जेष्ठ नागरिक बीमित वडा घोषणा गरिएको छ। वडाभरीका सबै जेष्ठ नागरिकहरूको निशुल्क रुपमा स्वास्थ्य बीमा गरेपश्चात वडालाई पूर्ण जेष्ठ नागरिक बीमित वडा घोषणा गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका संयोजक विष्णुदत्त जोशीले बताउनुभयो।

नेपाल सरकारले २०७६ वैशाख १ गतेबाट जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने नीति लिएकाले सोही अनुसार जिल्लाभरीका जेष्ठ नागरिकहरूको बीमा गर्न थालिएको उहाँले बताउनुभयो। यस क्रममा दशरथचन्द नगरपालिका–५ का १ सय ५२ जना जेष्ठ नागरिकको स्वास्थ्य बीमा र ७० बर्ष भन्दा माथिका नागरिकको जेष्ठ नागरिक बीमा गर्ने गरिएको छ।

बीमा गरिएका जेष्ठ नागरिकले १ लाख सम्मको उपचार सुविधा निशुल्क रुपमा प्राप्त गर्ने बताइएको छ भने १ हजार १ सय १८ किसिमका औषधिहरू निशुल्क रुपमा प्रदान गरिने समेत संयोजक जोशीले जानकारी दिनुभयो।

जिल्लाभरी दर्ता सहयोगी मार्फत जेष्ठ नागरिक र अन्य नागरिकको स्वास्थ्य बीमा गर्ने कार्य जारी रहेको छ। जिल्लाभरी अहिलेसम्म १ हजार बढी जेष्ठ नागरिकको बीमा गरिसकिएको स्वास्थ्य बीमा बोर्ड बैतडीले जनाएको छ। विमित नागरिकहरूले सूचीकृत स्वास्थ्य संस्थामा निशुल्क उपचार पाउने गरेका छन्।

बैतडीको हकमा जिल्ला अस्पताल बैतडी, केशरपुरस्थित पाटन प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गोकुलेश्वर अस्पताल दार्चुला र डडेल्धुरा अस्पतालमा बीमितहरूको निशुल्क उपचार हुने गरेको छ।