दुर्लभ सुन गोहोरो बरामद

0
Shares

विराटनगर, (नेस)।मोरङ प्रहरीले संरक्षित एक दर्जन सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ। मोरङ सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डबाट प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–६ का जसबहादुर धिमाललाई १२ वटा जिउँदो सुन गोहोरासहित पक्राउ गरेको हो।

सिक्टीबाट डायनियातर्फ आउँदै गरेका साइकल यात्री धिमाललाई प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा प्लास्टिकको बोरामा ल्याई राखेका जिउँदो सुन गोहोरो १२ वटा फेला पारेको थियो। बरामद गरिएका सुन गोहोरोसहित पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले संरक्षित प्रजातिमा रहेका कारण सुन गोहोरो मार्न वा यसको चोरी सिकारी गर्न कानुनले पूर्णरूपमा प्रतिबन्ध लगाएको बताउनुभयो। यति धेरै संख्यामा गोहोरोसहित पक्राउ परेका व्यक्तिमाथि कारबाही अघि बढाउन अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिएको घिमिरेको भनाइ छ।

सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जीव हो। यो मुख्यतया नेपाल, भारत, पाकिस्तान र बंगलादेशलगायतका दक्षिण एसियाका भूभागमा पाइन्छ। सुन गोहोरो साईटीस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ।

गोहोरो सरिसृप वर्गमा पर्ने ढाडमा हाड हुने वन्यजन्तु हो। यो जंगलको खोल्साहरूमा पाईन्छ। यसको छालाबाट खैंजेडी, डम्फु, ढ्याग्रो, मादललगायतका ताल बाजा बनाइने गरेको पाइन्छ। यसको चोरी सिकार गर्नेलाई १ वर्षदेखि १० वर्ष कैद र ४० हजारदेखि ७५ हजार रुपियाँसम्म जरीवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।