सरकारी कार्यालयमा प्रशासनको छड्के सबैभन्दा छाडा मालपोत कार्यालय

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।  जिल्ला प्रशासन कार्यालय ललितपुरले संघीय मन्त्रालयअन्तर्गत जिल्लाभर रहेका कार्यालयको छड्के गरेको छ। सो कार्यालयले आइतबारदेखि छड्के निरीक्षण शुरु गरेको हो।

अनुगमनका क्रममा कार्यालयले विभिन्न सरकारी कार्यालयमा उपस्थित भए नभएको, कार्यालयको पोसाक लगाए, नलगाएको, प्रक्रिया पूरा नगरी बिदा बसे नबसेकोलगायतका विषय हेर्ने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नियमित प्रक्रियाअनुसारै सरकारी कार्यालयमा छड्के निरीक्षण गरेको बताउनुभयो। ‘राष्ट्रसेवक कर्मचारीको कार्यालयमा उपस्थिति, व्यवहार, बिदा, पोसाकलगायतका कुरा हेर्न छड्के निरीक्षणलाई निरन्तरता दिन लागेको हौं’ –उहाँले बताउनुभयो।

छड्के निरीक्षणका क्रममा सेवाग्राहीको बढी चाप परेको महत्वपूर्ण कार्यालयमा ठूलो संख्यामा कर्मचारी नभेटिनु आश्चार्यको विषय भएको भन्दै उहाँले त्यस्ता कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई सचेत गराउने जानकारी दिनुभयो।

अनुगमनका क्रममा केही महत्वपूर्ण र सेवाग्राहीको बढी चाप हुने कार्यालयमा थुप्रै कर्मचारी अनुपस्थित भएको भेटिएकाले उहाँहरूलाई एकपटक सचेत गराउने र पुनः त्यस्तो देखिए कारबाही गर्ने जानकारी उहाँले दिनुभयो।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको छड्के निरीक्षणमा सबैभन्दा बढी मालपोत कार्यालयका कर्मचारीका अनुपस्थित रहेका थिए। त्यहाँ कार्यालय प्रमुखसहित १७ जना कर्मचारी अनुपस्थित रहेका थिए। अनुपस्थित हुनेमा ५ जना अधिकृतस्तरका ७ जना सहायक स्तरका ५ जना कार्यालय सहयोगी र हल्का सवारी चालक रहेका छन्।

प्रमुख मालपोत अधिकृत भीमकान्त पौडेलसमेत अनुपस्थित रहनुभएको थियो। ७२ जना दरबन्दी रहेको जिल्ला हुलाक कार्यालयमा ४ जना अनुपस्थित रहेका थिए।
सडक विभागअन्तर्गतको कान्तिलोकपथ सडक आयोजनामा १७ जना दरबन्दी रहेकोमा ७ जना अनुपस्थित रहेका थिए, जहाँ २ जना अधिकृत र ५ जना सहायकस्तरका कर्मचारी रहेका छन्।

उक्त आयोजनाका कर्मचारी काज र तालिममा गएको भनिए पनि कुनै त्यस्तो कागजात नभेटिएको अनुगमन टोलीले जानकारी दिएको छ।

त्यस्तै टोलीले नापी कार्यालयमा ७ जना, डिभिजन सडक कार्यालय, आन्तरिक राजस्व कार्यालयमा २–२, जिल्ला आयोजना कार्यान्वयन एकाइ पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनलगायतमा पनि छड्के निरीक्षण गरेको थियो।