२२ घण्टादेखि अवरुद्ध राजमार्ग एकतर्फी सुचारु

0
Shares

नवलपरासी ।
बुटबल नारायणगढ सडक खण्ड अन्तरगत अरुणखोलामा आएको बाढीले अबरुद्ध बनेको यातायात सेवा एक तर्फी रुपमा सुचारु भएकोछ । आईतबार साझ ६ बजे खोलामा एकाएक बाढी आई डाईभर्सन बगाए पछि पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटका अनुसार सोमबार दिनभर डाईभर्सन बनाई बेलुका सवा चार बजेबाट एक तर्फी रुपमा अबरुद्ध बाटो खुलेको हो ।

खोलाले डाईभर्सन बगाउदा पूर्व पश्चिमको गन्तब्यमा हिडेका मालबाहक ट्रक, लामो दुरीका यात्रुबस र जीप कारका यात्रुहरुले करिव २२ घण्टा सडकमै बस्नु परेको स्थानीय जाबेद अन्सारीले बताए ।

सोमबार दिउसो पनि डाईभर्सन बनाउदा बनाउदै खोलमा बाढी आएको र डाइभर्सनमा विछाएको माटो खोलाको बाढीले बगाएको थियो ।
गत बुधबार विहान पूर्वबाट पश्चिम हिडेको मालबाहक ट्रकले अरुणखोलाको पुल भाचे पछि अस्थाई रुपमा खोलामा डाईभर्सन बनाई कामचलाउ रुपमा यातायात सुचार भएको थियो ।

यसै वीच शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भाचिएको अरुणखोला पुलको निरिक्षण गरी तत्काल पुल मर्मत गर्न सडक डिभिजनलाई निर्देसन दिनुभएको थियो ।

सडक डिभिजन कार्यालय बुटबलले शनिबार देखिनै पुल मर्मतको कार्य थालनी गरेको छ । पुल मर्मतमा सरिक एक प्राविधिकका अनुसार दुई तिन दिन भित्र निर्माण सकिने छ ।

सडक डिभिजनको सल्लाह अनुसार प्रहरीले पुलको एक तर्फी भागबाट एम्वुलेन्स,अत्यावस्यक साना सवारी साधन, मोटर साईकल र पैदल यात्रीलाई मात्र हिडन दिएको छ ।

पुल भाचिएका कारण समय समयमा यातायात ठप्प हुदा यात्रुहरु अलपत्रमा पर्ने गरेकाछन् भने दिनहूं जसो अरुणखोला, चोरमारा, कावासोती, दुम्कीबास क्षेत्रमा सवारी साधानहरुको जाम लाग्ने गरेको छ ।