सुटिङले पायो आधुनिक हतियार

0
Shares

नेपाल समाचारपत्र, बाँके । नेपालगंजलाई सुटिङ खेलको उर्वरभूमि मानिन्छ। नेपालगंजका दुई जना चेली पार्वती थापा र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन्। नेपालगंजका सज्जनप्रताप सिंहले सन् १९८२ मा दिल्लीमा एसियन खेलेर नेपालगंजको ढोका खोलिदिएका थिए। सज्जनप्रतापदेखि अहिलेकी उदयमान खेलाडी जोया अन्सारीसम्म आइपुग्दा नेपालगंजले सुटिङमा स्वर्णको ‘चाङ’ लगाइसकेको छ।

नेपालगंजमा आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर एक करोडको आधुनिक सुटिङ रेन्ज बनिसकेको छ। यहाँका खेलाडीलाई समस्या भनेको हतियारको हो। आठौंमा बिग्रेको बन्दुकले अभ्यास गरेर पनि दुई जनाले स्वर्ण दिलाए। कृष्णा थापा त्यस्तो खेलाडी हुन्, जसले राष्ट्रिय खेलकुदमा स्वर्णको ह्याट्रिक नै गरिन्, छैठौं, सातौं र आठौं गरेर बदरुदिन अन्सारीले पनि कृष्णासँग मिलेर आठौंमा स्वर्णमा नाम लेखाए।

नेपालगंज उपमहानगरपालिकाको सहयोगमा दुई वटा हतियार (राइफल र पेस्तोल) मिलेपछि नेपालगंजका सुटिङ खेलाडी खुशीले गद्गद् भएका छन्। सधै बिग्रेको बन्दुकले अभ्यास गरेर स्वर्ण पदक दिलाउने खेलाडीले आधुनिक हतियार पाएका छन्। नेपालगंज उपमहानगरपालिकाको सात लाख सहयोगमा किनिएको राइफल र पेस्तोल आइतबार मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापा मगरले हस्तान्तरण गरे।

नेपालगंज उपमहानगरपालिकाले गएको आर्थिक वर्षमा यो सहयोग गरेको थियो। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले आठौंमा नयाँ हतियार ल्याउने प्रयास गरेपनि लामो प्रक्रियाका कारण ल्याउन सकेको थिएन। समितिका कार्यबाहक अध्यक्ष एवं सुटिङकै पूर्वराष्ट्रिय खेलाडी नरेन्द्र थापाले आठौं अगाडि नै ल्याउने प्रयास गरिएपनि बन्दुक ल्याउने लामो प्रक्रियाका कारण ल्याउन नसकिएको बताउनुभयो।

समितिका कार्यबाहक अध्यक्ष थापाले उपमहानगरपालिकाले सहयोगमा किनिएको जस्तो आधुनिक हतियार नेपालमै ४÷५ वटामात्रै रहेको जानकारी दिनुभयो। ‘नेपालगञ्जका खेलाडीले प्रतियोगितामा चलाउने बन्दुक पाएका छन्, अब यहाँका खेलाडीको स्तर माथि हुनेछ, हतियारले अभ्यास गर्न पाउँदा उदयमान खेलाडीको हौसला अझ बढेर जान्छ।’

नेपालगंजमा यतिबेला पेस्तोल र राइफलमा एक÷एक दर्जन खेलाडीले नियमित अभ्यास गर्छन्। खेलाडी धेरै भएकाले दुई वटा बन्दुकले पुगेको त छैन। तर, बिग्रेका बन्दुकले होल्डिङ गर्ने र नयाँ बन्दुकले फायरिङ गराउने प्रशिक्षक पार्वती थापाले बताउनुभयो।