त्रिविको उपकुलपति छनोट गर्न सकस

0
Shares


नेपाल समाचारपत्र, काठमाडौं भुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च समितिको म्याद सकिएपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः एक साता थप्नुभएको छ ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सात दिनको म्याद थपिएको पत्र थमाइएको थियो। मन्त्री पोखरेल सर्च कमिटीका संयोजक हुनुहन्छ। सो कमिटीले हालसम्म कसैको नामको विषयमा छलफलसमेत गरेको छैन। तर समितिलाई उपकुलपति छनोट गर्न हम्मेहम्मे पर्न थालेको छ।

सर्च कमिटीका संयोजक एवं मन्त्री पोखरेलले ‘समय अपुग भएपछि थप गर्न आग्रह गरेका थियाँै, कुलपति एवं प्रधानमन्त्रीज्यूले एक साता म्याद थप गरिएको पत्र दिनुभयो। कस्तो पद्धति र प्रणालीबाट उपकुलपति छनोट गर्ने भन्ने विषयमा परामर्श भइरहेको छ’ –भन्नुभयो।  उहाँले हालसम्म परामर्श गर्न व्यस्त रहेको जानकारी गराउँदै केही दिनमै नामको विषयमा छलफल गर्ने बताउनुभयो।

मन्त्री पोखरेलले हालको सर्च कमिटीको क्षेत्रअधिकार त्रिविको उपकुलपति छनोट गर्ने मात्रै भएको जानकारी दिनुभयो।
‘अरू विश्वविद्यालयको उपकुलपति छनोट गर्न फेरि अर्कै सर्च कमिटी गठन हुनेछ, हाललाई त्रिविको उपकुलपति छनोट गर्न मात्र समिति गठन गरिएको हो’–उहाँको भनाइ थियो।

सर्च कमिटीले त्रिविको १९औं उपकुलपति छनोट गर्नेछ। हालको समितिमा व्यवस्थापन संकायका डिन प्राडा. डिल्लीराज शर्मा र आंगिक क्याम्पसका तर्फबाट त्रिवि सभाका सदस्य एवं मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेका छन्। प्रम ओलीले आफ्नो पकेटमा रहेका व्यक्तिलाई उपकुलपति बनाउने तयारी गरेको अवस्थामा सर्च कमिटी गठन गरेर कसको नाम सिफारिस गर्ने ? भन्ने विषयमा टुङ्गो लगाउन नसक्ने स्रोतको भनाइ छ।

स्रोतका अनुसार त्रिविसहित सात विश्वविद्यालयको उपकुलपति छनोट गर्ने विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।

छलफलबाट आएको नामअनुसार सिफारिस समितिको बैठकले अनुमोदन गर्ने तयारी भइरहेको छ। दुई नेताबीच कुन विश्वविद्यालयमा कसलाई उपकुलपति बनाउने भन्ने विषयमा गहन छलफल भइरहेको स्रोतको भनाइ छ। पछिल्लो समय त्रिविको उपकुलपतिमा डा. अरूण सायमी, मेडिकल काउन्सिलका पूर्वअध्यक्ष धर्मकान्त बास्तोलाको नाम चर्चामा आएको छ।

उता त्रिविका उपकुलपति प्राडा. तीर्थराज खनियाले पूर्वउपकुलपतिलाई समेत सर्च कमिटीमा समावेश गराउनुपर्ने बताउनुभयो। सर्च कमिटीमा पूर्वउपकुलपति नराख्नु नै त्रुटी भएको उहाँको भनाइ थियो। उहाँले त्रिविको सिनेट सदस्यको हैसियतबाट सिनेट सदस्य रहनुभएका प्राज्ञलाई सर्च कमिटीको सदस्य बनाए उपकुलपति छनोट गर्दा केही व्यवस्थित हुने उहाँले बताउनुभयो।

तर हाल गठन गरिएको सर्च कमिटीमा क्याम्पस प्रमुखलाई समेत समावेश गराइएको छ। सर्च कमिटीले त विज्ञ र विश्वविद्यालय बुझेका प्राज्ञलाई खोजेर उपकुलपति बनाउनु उचित हुने उहाँको भनाइ थियो।

उहाँले कुनै पनि विश्वविद्यालयका उपकुलपतिलाई करिब एक दशकसम्म जिम्मा दिनु उचित रहेको सुझाव दिनुथयो। तर अहिले विभिन्न संचारमाध्यममा लेख लेखेर र टेलिभिजनमा अन्तवार्ता दिएर व्यक्तिहरू उपकुलपति हुने दौडमा रहेको उहाँको आरोप थियो। उहाँले राजनीतिमा नलागेका व्यक्तिलाई उपकुलपति बनाउन असम्भव रहेको तर्क राख्दै उपकुलपतिमा नियुक्ति भएपछि राजनीति भन्दा पनि विश्वविद्यालयको हितअनुकूल लाग्ने व्यक्ति उपकुलपति हुनसक्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘राजनीति कनेक्सन भएन भने उपकुलपति चलाउनै सकिँदैन तर उपकुलपति भइसकेपछि पूर्ण रूपमा राजनीतिमा लाग्नु गलत हुन्छ।’
यही भदौ ६ गतेबाट त्रिविसहित सात विश्वविद्यालयका उपकुलपतिको पद रिक्त हुँदै छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी निकट प्राध्यापकले आ–आफ्नो खेमाका व्यक्तिको नाम सिफारिस गर्न आफैंनै पार्टीका तत्कालीन दुई अध्यक्षलाई दबाब दिँदै आएका छन्।