क्यानडा पठाउने भन्दै ८ सय जनालाई ठग्ने अभियुक्त प्रहरी नियन्त्रणमा


काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लावारी नगरपालिका वडा नम्बर ७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

खड्काले विभिन्न नाममा नक्कली फेसबुक आईडि बनाउने गरेको र त्यसै मार्फत क्यानडा पठाईदिने प्रलोभनमा पारी ठग्ने गरेको खुलेको छ । उनले क्यानडामा बसोबास गर्ने युवकहरुको फोटो आफ्नो फेक आईडिमा राख्दै अधिकांश स्टाटस तथा फोटोहरू टोरन्टो,क्यानडा बाट र विभिन्न युरोपियन तथा अमेरिकन मुलुकहरूमा भ्रमण गरेको बताउदै आएकाथिए । खड्काले सन् २०१२ देखि हालसम्म करिब ८ सय भन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

उनी विरुद्ध १०० भन्दा बढी उजुरी परेको प्रहरीले जनाएको छ । हरेक व्यक्तिबाट दुई लाख रुपैयाँ लिने गरेको देखिएको हो। उनले पीडितलाई दिल्लीमा रहेको क्यानडा दूतावासमा अन्तर्वार्ता दिनको लागि भारत सिलीगुडीको बागडोरा एयरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै लैजाने र अलपत्र अवस्थामा छोड्ने गरेको देखिएको छ। अन्तर्वाताका लागि कपाल काट्न, फेसवास गर्न सैलुन पठाउदै पीडितहरूले ल्याएको पैसा मागी भारतीय मुद्रा साटेर आउँने बताउदै उनी फरार हुने गरेको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।