नम्रतासँग लड्दै सिर्जना

0
Shares

०७६ सालले करिब ३ महिना बिताइसकेको छ। यस अवधिमा नेपाली फिल्मले खासै गतिलो परिणाम दिन सकेका छैनन्। रिलिजमा आएका थोरै फिल्मलाई छोडेर धेरैजसो फिल्म व्यापारिकरूपमा असफल सावित भएका छन्।

यसबीचमा आगामी भदौको पहिलो साता रिलिजमा आउने फिल्म जाइराबाट आशा गरिएको छ। महिला केन्द्रित फिल्म न्यून संख्यामा बनिरहेका बेला जाइरा महिला केन्द्रित बनेर आउँदै छ। फिल्ममा नायिका नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छिन्।

यसमा उनी मिक्स मार्सल आर्ट खेलाडीका रूपमा देखिँदै छिन्। प्रायः फिल्ममा लभर गर्लको भूमिकामा देखिएकी उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। त्यसैले पनि यो उनको फिल्मी करिअरका लागि सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ। एक महिलाले लिने प्रतिशोधको कथामा निर्मित फिल्ममा नेगेटिभ रोलमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ।

नवअभिनेतृ सिर्जना रेग्मी फिल्ममा नेटेटिभ रोल बुलेटको भूमिकामा छिन्। फिल्ममा उनले नम्रतासँग भिषण लडाइँ गरेकी छन्। नायिका नम्रताका अनुसार फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर सिर्जनाले निर्वाह गरेकी छिन्। फिल्मको ट्रेलर सार्वजनिक भएपछि सिर्जनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसासमेत भइरहेको छ।

ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ। फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेतृका रूपमा हेर्न थालिएको छ। उनले पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताएकी छिन्।

नम्रता र सिर्जनाका साथमा फिल्ममा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमणदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतले अभिनय गरेका छन्। आशुतोषराज श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्ममा पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको रहेको छ।

कटामरी फिल्म्स्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन्।