पोखरामा गाईजात्रा, युवाको सक्रिय सहयात्रा

0
Shares

विजय नेपाली, पोखरा ।
पोखरालाई हिमालको प्रतिबिम्ब बोक्ने सुन्दर तालहरूको शहर सबैले भन्छन्। तर प्रत्येक वर्ष खास समयमा यहाँ आउने पर्यटकले यसको भिन्न पहिचान पनि पाउँछन्– चोक–चोकमा नेपाली बाजाको धुनमा सिंगारिएका युवाहरू नाचिरहेका देख्छन्।

नेवारी परम्परामा आधारित रहेको तायाः मचा (गाईजात्रा) काठमाडौंमा ख्याली अर्थात् विभिन्न मुकुट लगाएर मनाउने गरिए पनि पोखरामा भने छुट्टै तरिकाले मनाउने गरिन्छ। पोखरामा मनाइने गाईजात्राको महत्व र लोकप्रियता बढ्दो क्रममा छ। मृद·ा, झ्याली, झल्की, छिनिमिनी, टा र मुहालीको सुमधुर धुनसँगै पुरुषहरूले महिलाको रूप बनाई परीको भेषमा एउटा विदूषक (जोकर)लाई अघि लगाई नृत्य गरिन्छ।

पछिल्लो समय गाईजात्रामा युवाको आकर्षण निकै बढ्दै गएको छ। पोखरामा मात्र फरक किसिमले मनाइने यो पर्व समयान्तरालसँगै महोत्सवका रूपमा परिणत हुँदै छ। नेपाली इतिहासको मल्लकालीन समयमा राजा प्रताप मल्लले आफ्नो छोराको शोकमा डुबेकी रानीको उदासीपन हटाउन मान्छेको मृत्यु भएको प्रत्येक प्रजाको घरबाट गाईजात्रा निकाल्ने प्रचनलको शुरुआत भएको बताइन्छ।

युवाहरूको अग्रसरताले तयाः मचालाई सांस्कृतिक महोत्सवको रूप दिएको छ। काठमाडौंबाहिर लोप हुन लागेको गाईजात्रा नाचलाई जीवन्त राख्न विभिन्न पुचका सदस्यहरूलाई वाद्यवादन र नाच सिकाउने क्रम बढ्दै छ।

‘यो नाच पहिला सीमित टोलबाट मात्र निकालिन्थ्यो, अहिले टोलको संख्या बढ्दै गएको छ, यसको दोस्रो पक्ष भनेको पुरुषले मात्र नृत्य गर्ने यो नाचमा अहिले महिलाको पनि सहभागिता हुँदै गएको छ।’ –नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो।

पहिले सवारी साधन निकै कमी थियो सल्यान घान्द्रुकलगायत ठाउँबाट यही नाँच हेर्न भनेर पाँच दिनसम्म दर्शक पोखरा बस्ने गर्थे, त्यस समयमा होटलहरू पनि थिएनन्, घरको पेटीमै सुत्ने गर्थे । रातमा विभिन्न भाकाका गीत गाई थप शोभा बढाउने काम गर्थे, अहिले त्यसो छैन, सबैले सहज रूपमा हेर्न पाउँछन्’ विगत सुनाउँदै उहाँले भन्नुभयो। गाईजात्रा नेवारी परम्पराबाट शुरू भए पनि अहिले पोख्रेलीको साझा संस्कृतिका रूपमा विकास भएको अध्यक्ष पालिखेले बताउनुभयो।

पोखरामा दुई दिनसम्म मनाइने यस नाँचमा महिला सहभागिता पनि बढ्ने क्रममा छ। काठमाडौंमा गाईजात्राको दिन मात्र मनाउने गरिए पनि पोखरामा भने एक हप्तासम्म प्रतियोगिताको रूपमा मानाइन्छ।

‘सांस्कृतिक पहिचानमा आधारित यो मनोरञ्जन कार्यक्रम हो’ उहाँले भन्नुभयो– नेपाली मौलिकतालाई अहिलेको प्रविधिसापेक्ष बनाउने प्रयास हामीले गरेका छौं। आजभन्दा पाँच वर्षअघिसम्म पोखरामा तायाः मचा निस्कने हो कि होइन आशंका थियो, तर आज नेवाः खलको आह्वानमा कच्चाः खल, मिसाः पुच, ल्यामः पुच सबै एकीकृत भएर जुटेका छन्।

पहिले पोखराको पाँच टोलबाट निकालिने यो नाँच अहिले ३५ वटा टोलबाट निकालिने गरिन्छ।