पहिरोले १ घर भत्कियो, १४ घर जोखिममा


विनोद सिंह विष्ट, बैतडी । लगातारको बर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ ओसैलमा एकजनाको घर भत्किएको छ । बर्षातका कारण स्थानीय शमशेर बिष्टको घर गएराती भत्किएको वडा अध्यक्ष भक्तबहादुर बिष्टले जानकारी दिनुभयो ।

बर्षातका कारण चर्किन थालेको घर छोडेर तीनचार दिन अघि नै परिवार अन्यत्र सरेकाले मानवीय क्षति भएन् । मानवीय क्षति नभएपनि घरभित्रको अन्नपात सबै नष्ट भएको वडा अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

यसैबीच दोगडाकेदार गाउँपालिका वडा नं ८ ओसैलमा ४ घर पहिरोको जोखिममा परेका छन् । ढिकगाड—मानलेक —गोरङ सडकका कारण स्थानीय डम्मर बिष्ट, विजय बिष्ट,हर्कबहादुर बिष्ट र धनबहादुर बिष्टको घर जोखिममा परेका हुन् । यस्तै सोही वडाको पितरकाँडा टोलमा पहिरोको जोखिम बढेको स्थानीय नरेन्द्र बिष्टले जानकारी दिनुभयो । घरतलतिरबाट काटिएको सडकमा पहिरो खसेपछि पहिरोले घर बगाउने चिन्ता बढेको स्थानीयहरुले बताएका छन् । जिल्लाका सबै ठाउँका कच्ची सडकले पहिरोको जोखिम बढाएको छ ।

यसैबिच बैतडीको पुुर्चौंडी नगरपालिका वडा नं १ को सीम बस्ती पहिरोको जोखिममा परेको छ । हाट–गण्न्ना सडकका कारण बस्ती नै पहिरोको जोेखिममा परेको स्थानीय जरी लुहारले बताउनुभयो । बस्ती माथिबाट काटिएको सडकबाट पहिरो खसेकाले बस्ती जोखिममा परेको उहाँले बताउनुभयो । सो ठाउँका १० घर पहिरोको जोखिममा परेका छन् । सडकमा नाली नकाटिएका कारण सडकबाट पहिरो खसेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिनुभयो ।

नगरपालिकाको ५० लाखको लगानिमा निर्माण गरिएको सडकले गाउँघरमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । सडकको ट्रयाक मात्रै खोलिएकाले सडकबाट आएको भेलले खेतबारीमा समेत क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् ।