मिनीट्रक र खेतबाट १ सय १२ किलो गाँजा बरामद


हेटौंडा । गएको बुधबार दिउँसो करिब सवा ३ बजे मकवानपुर प्रहरीलाई गोप्य सूचना प्राप्त भयो । सोअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झासमेतको टोली तत्काल खटियो ।

टोलीले हेटौंडा–१०, बसपार्कस्थित सडकखण्डमा पालुङबाट बीरगञ्जतर्फ जाँदै गरेको बा. ५ ख १८२५ नम्बर मिनीट्रक रोकी चेक गर्न थाल्यो । चेक गर्दा ट्रकबाट ५९ किलो ५ सय ८० ग्राम गाँजा फेला पर्यो ।

चालक मकवानपुरको कैलाश–६ बस्ने वर्ष २० का भीमसेन मोक्तान र ट्रकमा सवार कैलाश–६ कै वर्ष २६ का रोशन लामाले ट्रकको चालक बस्ने सिटमुनि फल्सबटम बनाएर फल्स बटमभित्र लुकाइराखेको अवस्थामा गाँजा बरामद गरिएको हो ।

८ वटा प्लास्टिकको पोकामा रहेको गाँजा, अभियुक्तहरु र ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना र सवारीसाधन जफत हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

मंगलबार विहान करिब सवा ९ बजे इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रनानि मधुसूदन बिष्टको टोलीले हेटौंडा–१९, नेवारपानी बीचटोलस्थित धानखेतबाट गाँजा बरामद गरेको छ । ओसारपसार गर्ने उद्धेश्यले प्लास्टिकमा प्याकिङ गरेर राखिएको अवस्थामा ५३ किलो गाँजा बरामद गरी संलग्न व्यक्तिहरुबारे अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।