झापा अदालतमा मुद्दा फैसला घट्यो


भद्रपुर । झापा जिल्ला अदालतमा गत वर्षभन्दा यो वर्ष मुद्दा फैसला २ दशमलव १५ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा ५९ दशमलव ६६ प्रतिशत मुद्दा फैसला भएको थियो भने आर्थिक वर्ष ०७५।७६ मा २ दशमलव १५ प्रतिशतले घटेर ५७ दशमलव ५१ प्रतिशत रहेको जिल्ला अदालतले जनाएको छ ।

अदालतमा ६ वटा इजलास रहेका छन् । गत आर्थिक वर्ष ०७४।७५ मा जिम्मेबारी सरेर आएका १७ सय ८६ र आर्थिक वर्ष ०७५।७६ मा दर्ता भएका २८ सय ७९ गरी ४६ सय ६५ ओटा मुद्दा परेका थिए । अदालतमा ६ जना न्यायधीशमध्ये एकजना सर्वोच्चमा कार्यरत रहेका छन् । अदालतमा परेका मुद्दामा कार्यरत न्यायधीशहरुलाइ मुद्दाको भागबण्डा लगाइएको थियो । जसअन्र्तगत खिलानाथ रेग्मी १४ सय १८,उद्धव प्रसाद भट्टराइ १६ सय ३३,शान्ती प्रसाद आचार्य १६ सय ३८, प्रमेश पोखरेल १३ सय ३२ र सन्तोष प्रसाद पराजुलीलाइ १३ सय २७ ओटा मुद्दाको जिम्मेवारी दिइएको थियो ।

न्यायधीश विश्वनाथ भट्टराइ भने कार्यविभाजनमा परेनन । जिम्मेवारी पश्चात गरिएको मुद्दा फर्छोटमा क्रमश रेग्मीले ५ सय १२, भट्टराइले ६ सय ४२,आचार्यले ६ सय २१,पोखरेलले ४ सय ६६ र पराजुलीले ४ सय ४२ ओटा मुद्दा फर्छोट गरेका थिए । एक आर्थिक वर्षमा २६ सय ८३ ओटा मुद्दा फैसला गरी चालु आर्थिक वर्ष ०७६।७७ मा १९ सय ८२ ओटा जिम्मेबारी सरेर आएको अदालतका स्रेस्तेदार दुर्गाप्रसाद खनालले बताउँनुभयो । ६ जना न्यायधीशले गर्ने काम ५ जनाले गर्नुपर्दा गत वर्ष भन्दा यो वर्ष केही प्रतिशतले मुद्दा फैसला कम भएको स्रेस्तेदार खनालको भनाइ छ ।

यहाँ दरबन्दी भएपनि केही महिना काम गरेर हाल सर्वोच्चमा कार्यरत न्यायधीश विश्वनाथ भट्टराइ नभएका कारण प्रतिशत कम भएको उहाँले जानकारी दिनुभयो ।