विदेशमा बिलाउँदै युवा, कफिनमा फर्किए ३८ मकवानपुरे


हेटौंडा । नेपालबाट रोजगारीको खोजीमा विदेशिने युवाको संख्या ठूलो छ । रोजगारीको सिलसिलामा गाह्रोसाह्रो भन्न नपाउने तथा असुरक्षित र कडा शारीरिक परिश्रमले दैनिक विदेशमा ज्यान गुमाउन पुग्ने कामदारको संंख्या त्यतिकै ठूलो छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीमा गएका मकवानपुरका आठ जनाको मृत्यु भएको छ । मृतक परिवारले क्षतिपूर्ति पाइसकेको कार्यालयले जनाएको छ । मुलुकमा व्याप्त बेरोजगारी तथा आफ्नो आर्थिक समस्या समाधान गर्न यसरी विदेशिने युवाहरु आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा जाने गर्दछन् । तर, ती सबैको सपना कहाँ पूरा हुन्छ र १

उनीहरुको सपना पूरा नभए पनि आश्रित परिवारले क्षतिपूर्ति पाउँदै आएका छन् । आव २०७३/०७४ मा १३ जनाको मृत्यु भएकोमा मृतक परिवारले ३९ लाख १२ हजार क्षतिपूर्ति पाएका थिए । आव २०७४/०७५ को तथ्यांक हेर्दा १७ जनाको मृत्यु भएकोमा मृतक परिवारले १८ लाख ४६ हजार क्षतिपूर्ति पाएका थिए ।

आर्थिक वर्ष २०७५/०७६ मा ८ जनाको मृत्यु भएको थियो । मृतक परिवारले ९८ लाख ७९ हजार रकम बराबरको क्षतिपूर्ति पाएको प्रशासनले जनाएको छ । सबभन्दा बढी मनहरि–९ का कुमार विश्वकर्माको परिवारले ४८ लाख ३२ हजार पाएका छन् ।

गरेको काम, कम्पनी र तलबअनुसार मृतकले क्षतिपूर्ति कति पाउने भन्नेमा भरपर्ने प्रशासनका लेखा शाखाका कर्मचारी लक्ष्मीचरण श्रेष्ठले बताउनुभयो । मृत्यु हुनेमा अधिकांश २५ वर्षदेखि ४५ वर्षसम्मका युवाहरु हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
विकासोन्मुख नेपालमा रोजगारीको अवस्था सन्तोषजनक नभएकोले युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । कतिपय युवाहरु शिक्षाअनुसार रोजगारी नपाउँदा विदेशिन बाध्य भएका छन् ।

न्यून आर्थिक अबस्था भएकाहरु आफनो आर्थिक अवस्था सुधार गरी परिवारमा खुशी छर्न भन्दै सुनौलो सपना बोकी विदेशी भूमिमा जाने गर्छन् । कतिपयले सपना पूरा पनि गर्छन् त कतिपयको भने अलिकति खुशी पनि लुटिन्छन् ।
वैदेशिक रोजगारीमा गएका कुनै कामदारको करार अवधिभित्र कुनै कारण मृत्यु भए मृतक कामदारको नजिकको हकवालाले क्षतिपूर्ति पाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थलमा दैनिक आइपुग्ने सरदर ३ वटा लास तिनै सपनाहरु कफिनमा बन्द भएर आइपुग्ने गरेका छन् । यसले निम्त्याएको सामाजिक मूल्य चर्को र पीडादायी छ ।