बोली फेर्दै मुख्यमन्त्री : ‘राजधानी सर्दैैन, २५ मिटर भत्कँदैन’


हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडाबाट नसर्ने र पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा क्षेत्रमा सडक दायाँबायाँ २५ मिटर पनि नभत्कने दाबी गर्नुभएको छ । यी दुवै विषय हाल हेटौंडामा चर्चित मुद्धा हुन् ।जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्लासभाको हेटौंडामा उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी हेटौंडाबाट सार्न नदिइने बताउनुभएको हो ।

प्रदेशका ९० प्रतिशत बढी सांसद् हेटौंडाबाट राजधानी सार्ने पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो–१८ महिनासम्म हेटौंडामा राजधानी राख्न मेरो महत्वपूर्ण भूमिका छ । मेरो भूमिका नभएको भए प्रदेशसभाको पहिलो वा दोस्रो बैठकमा नै राजधानी सरिसक्थ्यो । त्यसैले हेटौंडाको बिकल्प छैन । मैले काठमाडौंका सम्पादकसँगको अन्तक्र्रियामा पनि भनेको छु कि सिंहदरबारको छायामा राजधानी हुनै सक्दैन ।
हालै काठमाडौंमा मुख्यमन्त्री पौडेलले राजधानीका विषयमा बोली फेर्नुभएको थियो ।

यसअघिका धेरै भाषणमा हेटौंडाको राजधानी कसैले सार्न नसक्ने भनिरहनुभएका मुख्यमन्त्री पौडेलले ‘अब राजधानी नुवाकोट वा रामेछाप लगे हुन्छ’ भन्नेसम्मको अभिव्यक्ति दिनुभएको थियो । यसले हेटौंडाका हलचल मच्चाएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायामा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गर्नुभएको थियो ।

काठमाडौंमा सम्पादकहरुको अन्तत्र्रिmयामा आफूले राजधानी नुवाकोट हुने भन्दै दिएको अभिव्यक्ति हेटौंडाबासीले नराम्रो नजरले हेरिरहेको भन्दै आफूले ‘काठमाडौं उपत्यकामा हुँदैन । नुवाकोट, रामेछाप वा सिन्धुली जहाँ लैजान पनि मिल्छ भनेको’ प्रष्टीकरण दिनुभयो ।आफ्नो आँगन हेटौंडामा रहेको राजधानी बाहिर लैजान लाग्यो भनेर जस्ले सोच्नुभएको छ, उसलाई पाप लाग्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको मुख्यमन्त्री पौडेलको काठमाडौंको अभिव्यक्ति हो । मुख्यमन्त्री पौडेलले हेटौंडामा भाषण गर्दा ‘राजधानी हेटौंडा नै हो’ भन्ने तर अन्यत्र भाषण गर्दा ‘अन्तै राजधानी लगे हुन्छ’ भन्न थाल्नुभएको छ ।प्रदेश–३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर काठमाडौंमा चाहिं कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभामा दुई तिहाइ मतले तोकिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । भन्नुभयो–म एक्लैले लैजान नमिल्ने भएको र कानुनभन्दा माथि म नरहेको हुँदा बहुमतको आधारमा तोकिने छ ।हेटौंडामा राजमार्गको दायाँबायाँ २५ मिटर सडक नभत्कने मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो । हालको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–राजमार्ग कुनै पनि शहरको बीचबाट जान सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्नँ । हिजो मैले यही बोलेको हुँ, भोलि पनि यही बोल्छु ।
‘हेटौंडा बजार क्षेत्रको रातोमाटेदेखि चौकीटोलसम्म बजार क्षेत्रका घरहरु भत्किए कस्तो होला ? त्यसैले २५ मिटर पछाडि घर भएकाहरुले आफ्नो घर सडकनजिक आइपुग्छ भन्ने खुशीको सपना नदेख्नुहोस्,’ उहाँले सप्रश्न आग्रह गर्नुभयो ।

हेटौंडा बजार क्षेत्रमा सडकको दायाँबायाँ १६/१६ मिटरमात्र सडकभित्रका संरचनामात्र भत्कने बताउँदै उहाँले भन्नुभयो–बजार क्षेत्रमा मेरो पनि घर पर्छ । १६ मिटरका भत्किन्छन् । पहिले म घर भत्काउँछु । बाइपास सडक बनाइन्छ । बाइपासका लागि प्रदेश सरकारले ठूलो बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । नगरवासीका लागि २५ मिटरको सट्टा १६ मिटरमात्र सडक बिस्तार गरिने उहाँले बताउनुभयो ।