बिरामीहरु भुइँमा सुतेको देखेपछि


हेटौंडा । रोयल इन्फिल्डर्स क्लबले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ वटा खाट सहयोग गरेको छ । क्लबले प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलमार्फत् खाट हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले युवालाई रचनात्मक काममा सदैव अगाडि बढ्न सुझाउनुभयो ।

खाट खरिदमा करिब १ लाख खर्च भएको क्लब उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दीपेन्द्रचन्द ठकुरीले जानकारी दिनुभयो । आगामी दिनमा यस्ता सहयोग जारी राख्ने उहाँको भनाइ थियो । आँखा अस्पतालमा बिरामीहरु भुइँमा सुतेको देखेपछि सहयोग गरिएको उहाँले बताउनुभयो ।

क्लब, रोयल इन्फिल्डर्स (बुलेट मोटरसाइकल) प्रयोगकर्ताको संस्था हो । कार्यक्रममा अस्पताल संरक्षक सिद्धीलाल श्रेष्ठ, अस्पताल प्रमुख डा. सुनिल थकाली र क्लब अध्यक्ष विजय थापालगायत सहभागी हुनुहुन्थ्यो ।