वैकल्पिक व्यवस्थाबाट श्रम सेवा सुरु, अझै बनेन सर्भर


पोखरा । श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेशको सर्भरमा समस्या आएका कारण ३ दिनदेखि रोकिएको सेवा मंगलबार आजदेखि वैकल्पिक व्यवस्था गरेर सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएको कारण आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए । जसको प्रत्यक्ष असर कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनविज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।

सूचना अधिकारी श्रेष्ठले डिभाइसकै कारण कार्यालयका अन्य सेवा पनि प्रभावित भएकाले सोमबारदेखि वैकल्पिक डिभाइसको व्यवस्था गरी काम सुरु गरिएको जानकारी दिए । ‘माइक्रो टिट डिभाइस जोड्न केही समय लाग्ने देखियो । त्यसको प्रभाव सिधै सेवाग्राहीलाई पर्ने देखियो,’ उनले भने, ‘त्यही भएर अर्को साधारण नेट जोडेरै आँखाको स्क्यान गर्ने काम गरिरहेका छौं ।’

श्रेष्ठले सर्भर समस्या समाधान गर्न  आफूहरु पनि लागिरहेको  जानकारी दिदै उनले भने, ‘माथि विभागदेखि टेक्निसियन आउनुभाछ । माथिसँग डिभाइस लिंक गर्ने काम भइरहेको छ । हामी प्रयासमै छौं ।’