कोशी टप्पु : मरेका चौपायामा एन्थ्रेक्सको संक्रमण


सरोज यादव,  विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ । आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु रहेको पाइएको हो ।

पशु रोग अन्वेषण प्रयोगशाला बिराटनगरका डाक्टर संजयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात एन्थ्रेक्सको जिवाणुु फेला परेको जानकारी दिनुभयो । उक्त जिवाणु माटोमा रहन्छ र घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै रोग सर्ने गर्दछ । मरेका पशुको सिनो छुँदा, स्वास लिँदा र जिवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जिवाणु शरीरमा प्रवेश गर्न सक्ने सम्भावना प्रवल हुने पशु चिकित्सकहरुले बताएका छन् ।

बिराटनगर स्थित ल्याबबाट परीक्षणका क्रममा एन्थ्रेक्स प्रमाणित भैसकेको बताउने डाक्टर यादवले सोही अनुरुपको रिपोर्ट केन्द्रीय ल्याब काठमाण्डौंमा पठाइएको बताउनु भएको छ । डाक्टर यादवका अनुसार एन्थ्रेक्स जेनेटिक डिजिज हो । जुन रोगको जिवाणु माटोमा पाइन्छ र हावाको माध्यमबाट सर्दछ । मानिसमा समेत सर्न सक्ने भएकाले बेलैमा सावधानी अपनाउनु पर्ने हुन्छ ।

एन्थ्रेक्सको जिवाणु भेटिएकाले सावधानी सहित रोकथामको प्रयास थाल्ने तयारीमा जुट्नकालागि माथिको आदेश र रिपोर्टको पखाईमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाले जनाएको छ । आरक्ष भित्रको चरण क्षेत्रमा एन्थ्रेक्सको जिवाणु भेटिएसँगै कोशी टप्पु बन्यजन्तु आरक्ष भित्रका अर्ना सहितका संरक्षित जनावरको अस्थित्वमा खतरा उत्पन्न हुन सक्ने सम्भावना तर्फ समेत सचेत रहनु पर्ने पशु चिकित्सकहरुले बताएका छन् ।

एन्थ्रेक्सको जिवाणु भेटिएको भन्ने विषयलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले समेत स्विकार गर्नु भएको छ । एन्थ्रेक्सको जिवाणु पशु तथा मानवकालागि समेत घातक हुने भएकाले प्रदेश सरकार सहित पशु निर्देशनालय र मातहतका कार्यालयमा जानकारी गराइएको प्रजिअ राउतले बताउनुभयो ।