हेटौंडामा सिर्जनशील उद्यमी मेला सञ्चालन हुने


हेटौंडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला सिर्जनशील केन्द्र काठमाडौंको संयुक्त आयोजनामा भदौ ५ देखि ७ गतेसम्म हेटौंडाको पल्पसा सभागृहमा ‘सिर्जनशील उद्यमी मेला २०७६’ सञ्चालन हुने भएको छ ।

मेलाको उद्धेश्य घरेलु तथा साना एवम् लघुउद्यमी व्यवसायीको उत्पादन प्रवद्र्धनमा टेवा पुर्याएर स्वयम् सक्षम र निर्णायक भूमिका खेल्नसक्ने महिलाको पहिचान गरी उजागर गर्ने रहेको मकवानपुर महिला उद्यमी व्यवसायी संघ अध्यक्ष सुशीला पाण्डेले बताउनुभयो ।

हिन्दु नारीको राष्ट्रिय पर्व हरितालिका तीजदेखि विजयादशमी तथा दीपावलीसम्मलाई लक्षित गरी आयोजित उद्यमी मेलामा उद्यमीहरुबाट उत्पादित कृषिउपज, दुग्धजन्य पदार्थ, स्थानीय कच्चा पदार्थबाट उत्पादित हस्तकला सामग्री, शृंगार सामग्री, दैनिक उपभोग्य वस्तु एवम् आवश्यक सामग्री प्रदर्शन र बिक्री वितरण हुने उहाँले जानकारी गराउनुभयो ।

‘यसले नेपाल सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन, घरघरमा रोजगारीका अवसर सिर्जना गर्न थालेको प्रयाससहित उत्पादक तथा उद्योग प्रवद्र्धनमा ठूलो टेवा पुग्नेमा हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो ।

उद्यमीबाट उत्पादित उत्पादनले थुप्रै चुनौतीको सामना गर्नुपरे पनि निकट भविष्यमा मेलाले थुप्रै अवसरहरु प्रदान गर्नेमा संघ विश्वस्त छ । उद्यमी व्यवसायीको मागलाई मध्यनजर गरी २० वटा स्टल थप गरी ५० वटा स्टलको व्यवस्थापन गरिने भएको छ ।

सीप, जाँगर, कला भएर पनि स्वस्फूर्त आफ्ना उत्पादन जनसमक्ष उजागार गर्न नसकिरहेका उद्यमीको उत्पादनको बजारीकरण एवम् समयसापेक्ष जनचाहना र मागलाई पच्छ्याउँदै सफल उद्यमी बन्न प्रेरणादायी अवसर प्रदान गर्न मेला आयोजना गरिएको उहाँको भनाइ छ ।