‘संगठनविनाको विचार काम छैन’

0
Shares

नेपाल समाचारपत्र, रामेछाप ।
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले संगठन विनाको विचारले पार्टी नचल्ने बताउनुभएको छ । नेपाल तरुण दल खाँडादेवी गाउँपालिका–६ रामेछापले शनिबार आयोजना गरेको तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घिमिरेले पछिल्लो समयमा नेपाली कांग्रेसमा संगठनविनाको विचारले पार्टीलाई कमजोर बनाउँदै लगेको बताउनुभएको हो ।

केन्द्रीय नेता समेत रहनुभएका घिमिरेले इतिहास बोकेको नेपाली कांग्रेसले आफ्नो पार्टी चलाउन र संसद्मा कडा प्रमुख प्रतिपक्षको भूमिका समेत लटरपटर तरिकाले चलाएकै कारण त्यसको परिणाम राम्रो नआएको दुखेसो गर्नुभयो । उहाँले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताले नेतृत्वलाई गाली गर्ने र आफ्नो कर्तव्य भुल्दै जाँदा त्यसले भविष्यमा कांग्रेसलाई ठूलो घाटा लाग्ने चेतावनी दिनुभयो ।

अहिले राजनीति गर्ने नेताहरुले अफ्नो फुर्सद भएको बेला मात्रै राजनीति गर्दै गएकाले त्यस्तो प्रकारको राजनीतिले समाजमा केही परिवर्तन नआउने समेत उहाँले दाबी गनुभयो । भविष्यमा नेपाली कांग्रेसलाई सफल बनाउनका लागि कांग्रेसले तत्काललै जनता, मतदाता र कार्यकर्तालाई सक्रिय बनाएर योजनाबद्ध तरिकाले लाग्नुपर्नेमा घिमिरेको जोड रहेको छ ।

तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा घिमिरेले सहभागीहरुलाई प्रशिक्षणसमेत दिनुभएको थियो । खाँडादेवी गाउँपालिका–६ माकादुम तरुण एकाइका सभापति हरि केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, पूर्वपार्टी सभापति रामचन्द्र खड्का, नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) लगायतले बोलेका थिए ।

तरुण भेला तथा प्रशिक्षण पश्चात वासुदेव बुढाथोकीको अध्यक्षतामा नेपाल तरुण दल माकादुम–काठमाडौं सम्पर्क समिति गठन भएको नेपाल तरुण दल रामेछापका सदस्य सौरभ केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा माकादुमबाट विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई समेत उक्त समितिमा समेटिएको छ ।