बीरगंजमा हतियारसहित २ पक्राउ


पर्सा । बीरगंजबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १८ भवानीपुर बस्ने मोहन साह तेली र उनको २१ वर्षीय छोरा कुन्दन साह रहेका छन् । दुईनाले बाह्रबोर हतियार, सोको गोली राउण्ड ४ र ३ वटा खोकासहित मंगलबार दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने २८ वर्षीय बृजेश कुमार पटेल, २४ वर्षीय बिकेश पटेल र १८ वर्षीय दिपेश पटेल समेत ३ जना बीच घर बनाउने बिषयमा वादविवाद भई झैं(झगडा हुँदा कुन्दनले १ राउण्ड गोली फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरिले उक्त हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।