बैतडीमा १ लाख नगदसहितको बेवारिसे झोला फेला


बैतडी ।  जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको नाचन्थलीनजिक सडकमा १ लाख रुपैंया नगद र ५ लाख ४० हजारको चेकसहितको वेवारिसे झोला फेला परेको छ ।

वेवारिसे झोलालाई कैलालीको धनगढी जादैं गरेका बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्का सहितको समूहले भेटाएको हो ।
सडक छेउमा झोला देखिएको र नगरप्रमुखले कसैको महत्वपूर्ण सामग्री भएको झोला हुन सक्छ भनेपछि आफूहरुले झोला ल्याएको मेयरसंगै रहेका जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक सिंहले बताउनुभयो । झोलामा हेर्दा नगद १ लाख , ५ लाख ४० हजारको चेक र बझाङको साविकको देउलीकोटका वसन्त बोहराको नागरिकता र अन्य प्रमाणपत्र फेला परेका छन् ।

झोलामा बझाङकै नागरिकको नागरिकताको प्रमाणपत्र भेट्टिएकोले बैतडी प्रहरीलाई खबर नगरी आफैंले सम्पर्क गर्ने गरी आफूसंगै धनगढी ल्याएको उहाँले बताउनुभयो ।

झोलामा भेटिएको नागरिकता र अन्य प्रमाणपत्रको आधारमा बसन्त बोहरासंग सम्पर्क भइसकेको र सुरक्षित रुपमा झोला सम्वन्धित व्यक्तिलाई बुझाइने उहाँको भनाई छ ।

झोला फेला पार्ने व्यक्तिसंग सम्पर्क भएको भएपनि झोलालाई बैतडी प्रहरीलाई नबुझाई कैलाली लगेकोे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । फेला परेको झोला प्रहरीको रहोबरमा सम्बन्धित व्यक्तिलाई बुझाउन समेत जिल्ला प्रहरी कार्यालय बैतडीले आग्रह गरेको छ ।