चितवनमा मन पराइयो साइनो, कलाकारहरू सम्मानित


आगामी शुक्रबारबाट रिलिजमा आउन लागेको नेपाली फिल्म क्षेत्रकी प्रथम नायिका भुवन चन्द थापाको साइनो चितवनका दर्शकले मन पराएका छन्। लक्की मिडिया हाउसले चितवनमा आयोजना गरेको विशेष शोमा दर्शकले साइनो रुचाएका हुन्। उनीहरूले साइनोलाई मौलिक कथावस्तुको अर्गानिक चलचित्रको संज्ञा दिएका छन्।

लोकप्रिय फिल्मकर्मी नीर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार रिद्धिचरण श्रेष्ठ, साइनोकी निर्मात्री भुवन चन्द, अभिनेतृहरू वसुन्धरा भुसाल, चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो। विशेष शोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजाराजेन्द्र पोखरेललगायतका सहभागी थिए।

फिल्म हेरेपछि फिल्मकर्मी नीर शाहले साइनो शुद्ध नेपालीपनको फिल्म बनेको चर्चा गरे। उनले यस चलचित्रबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको बताए। रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मूलधारको नेपाली फिल्म हेरेको बताए।
चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा लेखन अभिमन्यु निरबी, कोरियोग्राफी रामजी लामिछाने, छायांकन रामेश्वर कार्की र सम्पादन बनिश शाहको छ।