हुलाकी सडकमा गाडी फसेपछि…

0
Shares

नेपाल समाचारपत्र, बाँके ।
बाँकेको नरैनापुर जाने भनेपछि जो–कोहीको मनमा एउटै विचार आउँछ – ‘बाटो कस्तो होला ? दुःख पाइन्छ कि ?’

दुई वर्षअघिसम्म त यस्तो पनि कसैले सोच्थेनन् । जो–कोहीले दुःख नै पाइन्छ भन्थे । हुन पनि बाटो खराब भएकाले राप्तीपारी नरैनापुर जानेहरु दुःख नपाएका कोही हुदैनथे । सुविधायुक्त गाडीमा गएपनि बेलुका फर्किदा झ्याकल–झुक्कुलले गर्दा शरीर थला पथ्र्यो ।

अहिले समय फेरिएको छ । हुलाकी राजमार्ग बनिरहदा राप्तीपारीको यात्रा सहज भएको छ । नेपालगञ्जदेखि राप्तीपारीको अन्तिम विन्दु ४४ किलोमिटरको रहेको छ । हुलाकी राजमार्ग बनेपछि यात्रा सहज भएको छ, केही ठाउँबाहेक ।
अहिले राप्तीपारी पुग्दा एक÷दुई ठाउँको कल्भर्ट बन्दै गरेको स्थानलाई छोडेर पुरानो याद सम्झिनु नपर्ने भएको छ । हुलाकी सडकमा सरर्रर गाडी चल्ने भएको छ । धेरैजसो पिच भइसकेको छ भने केही ठाउँ पिचको तयारीमा रहेको छ । ठेकेदार कम्पनीले ६ महिनामा हुलाकी सडक हस्तान्तरण गर्ने जनाएको छ ।

ठेकेदार कम्पनी गणपति गु्रप अफ कन्ट्रक्सनका सञ्चालक तुलसीराम भण्डारीले विभिन्न विवादले गर्दा बीचबीचमा काम रोकिदा तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको बताउनुभयो । सम्झौता अनुसार साउन मसान्तसम्ममा हुलाकी सडक सम्पन्न गरिसक्नु पथ्र्यो । ठेकेदार भण्डारीले भन्नुभयो, विवादले गर्दा ६ महिनाजति काम रोकिएको थियो । त्यो समय जोड्दा हामीले समयमै काम सक्छौं । अबको ६ महिनामा सडक हस्तान्तरण गर्छौ ।’ उहाँका अनुसार, ४४ किलोमिटरमध्ये २६ किलोमिटर पिच भइसकेको छ । बाँकी पनि पिच गर्ने अवस्थामा रहेको छ । नहरपुरुवा र मटेहियाको विवादले लामो समयसम्म काम रोकिएको थियो ।

गणपति गु्रपले हुलाकी सडक निर्माणका लागि ६० करोडमा ठेक्का लिएको छ । अहिलेसम्म उसले ४२ करोड लिइसकेको छ । ठेकेदार भण्डारीले अब ३० प्रतिशत काम बाँकी रहेको जानकारी दिनुभयो ।

हुलाकी सडक बन्दा नरैनापुर नेपालगञ्जसँग जोडिएको छ । सबै पिच भइसकेमा नरैनापुरको सुइयाबाट नेपालगञ्ज आउन धेरै समय खर्चिनु पर्दैन । न त दुःख नै हुन्छ । अहिले तत्काल राप्तीपारी जादा भने फत्तेपुरको भेलौनियामै गाडी फस्ने अवस्थामा रहेको छ । जिल्ला विपत व्यवस्थापन समितिको एउट टीम मंगलबार खल्ला झगडिया पुग्दा भेलौनियामा गाडी फस्यो । जिल्ल शिक्षा समन्वय समितिको गाडी फसेपछि प्रमुख जिल्ला अधिकारी मदन भुजेल र एसपी बीरबहादुर वलीको सुरक्षार्थ रहेका प्रहरीले गाडीलाई धकेलेर पार गराए । गाडी धकेल्नु पर्ने अवस्थाले पुरानो दिनको याद दिलाएको अधिकारीहरुले बताए ।

ठेकेदार भण्डारीले भेलौनियाको कल्भर्ट समयमा नबन्दा दुई बर्खा आफूहरुले दुःख पाएको गुनासो गर्नुभयो । उहाँका अनुसार, त्यो कल्भर्ट बनाउने जिम्मा सडक डिभिजन कार्यालयको रहेको छ । सडक डिभिजन कार्यालयले बेलैमा कल्भर्ट नबनाउदा हुलाकी सडक बनेर पनि ठेकेदारले गाली खानु परिरहेको भण्डारीले दुःखेसो पोख्नुभयो । सडक डिभिजनले बेलैमा कल्भर्ट नबनाउदा दुई बर्खामा सामान बोकेका आफ्ना गाडीहरु फसेको ठेकेदार कम्पनीको दावी रहेको छ ।