कर्मचारीका घरबाट ‘रिजार्च काठमाडौं’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरको वातावरण व्यवस्थापन बिभागले ‘रिजार्च काठमाडौं’ कार्यक्रमको मोडेल सरकारी कार्यालय र कर्मचारीका घरबाट शुरु गर्ने योजना बनाएको छ । भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनि पठाउने कार्यक्रमको लक्ष्य रहेको कामपाले जनाएको छ ।
सोमबार आयोजित कार्यक्रममा ‘आकाशे पानी संकलन र पुनभरण सम्बन्धि’ आधारभूत तालिममा बोल्दै वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले महानगरको वातावरणीय सन्तुलनका लागि एकीकृत व्यवस्थित कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री गणेश साहले पानीको समस्या काठमाडौं र नेपालमा मात्र नभई विश्वब्यापी समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुन ठाउँमा कति जटिल र कुन ठाउँमा कम जटिल छ भन्ने मात्र हो । पानीको समस्या नभोग्ने कोही छैन । पानी बनाउन मिल्दैन । त्यसैले प्रकृतिले दिएको पानी जम्मा गरेर खाँचो परेका बेला चलाउने व्यवस्था मिलाउनु नै अबको उत्तम बिकल्प हो।’

तालिममा सहभागीहरुले आकाशेपानी संकलन प्रणाली जडान खर्च, यसको सञ्चालन प्रक्रिया, संकलित पानीको गुणस्तर र उपयोगका बिषयमा प्रश्नहरु राखेका थिए ।

बिभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन् । यी मापनले सतहभन्दा पानी भेटिने गहिराइ बढ्दै गएको देखाएको छ । गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७ सय लिटर पानी प्राप्त हुनुले पनि अवस्थालाई देखाउँछ । त्यस्तै ढुङ्गेधारा र इनारमा पानी नआउनुले पनि बिषयलाई पुष्टि गर्छ ।

अर्कोतिर पानी परेका बेला उपत्यकाका धेरै ठाउँहरु डुबानमा पर्ने गरेका छन् । यो क्रममा बर्षैपिच्छे बृद्धी छ । यसका धेरै कारणमध्ये एउटा पानी झरेको ठाउँबाट जमिनमुनि जान नसक्नु पनि एक हो । काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढाकेको अनुमान छ । यस कारण पनि आकाशबाट परेको पानीलाई संकलन गरेर सहरी व्यवस्थापन एवं प्राकृतिक सन्तुलनमा काम गर्नुपर्ने देखिन्छ ।