हजुरआमाको पीडाले नाति बने आँखा रोग विशेषज्ञ

बनेपामै अब्बल दर्जाको रेयुकाई आँखा अस्पताल

0
Shares

झट्ट हेर्दा कुनै होटल रिसोर्टजस्तो लाग्ने उच्च पहाडी भेगमा अवस्थित भवन अस्पताल होला भन्ने त्यहाँ नपुग्दासम्म कल्पनै गर्न सकिन्न। बनेपाबाट धार्मिक तीर्थस्थल गोसाइँस्थान जाने बाटोको किनारामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल निकै रमणीय स्थानमा छ। अस्पतालमाथि जंगल, वरिपरि खुला हावा आवतजावत, पश्चिमतर्फ घरैघरले घेरिएर उकुसमुकुस लाग्ने बनेपा बजार र अरनिको राजमार्ग, पूर्वतर्फ अरनिको राजमार्ग हुँदै धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जाने बाटो र अस्पतालको उत्तरतर्फ शिरमा गोसाइँकुण्ड, दक्षिणमा पनौती रहेको छ।

सन् २००७ मा रेयुकाईको सहयोग जुटाउन लागिपर्ने युवा पत्रकार हीरामणि शर्मा र स्थानीयको पहलमा रु. ५ हजार रुपियाँमा बनेपामा शुरू गरेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल यतिबेला आफ्नै स्वामित्वको पक्की भवनसमेत बनाएर सेवामा तल्लीन देखिन्छ। १२ वर्ष अघिसम्म आँखा परीक्षण तथा आँखाको शल्यक्रियाका लागि काठमाडौं धाउनुपर्ने समस्याबाट ग्रसित काभ्रेका बासिन्दाको आँखाको सम्पूर्ण उपचार सजिलै गराउन सफल भएको छ। सोही अस्पतालका मेडिकल डाइरेक्टर अर्थात् आँखा रोग विशेषज्ञ (फेको सर्जन) डा. प्रज्ञ लुइँटेलसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको

कुराकानीको सारसंक्षेप :

कति वर्ष भयो आँखा उपचार सेवामा जुट्नुभएको ?

म ५ वर्षदेखि आँखा उपचार सेवामा जुटेको छु।

तपाईंले आँखा रोग विशेज्ञता कहाँबाट गर्नुभयो ?

नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पढें र नेपालकै राष्ट्रिय आँखा अस्पताल त्रिपुरेश्वरबाट व्यावहारिक शिक्षा पूरा गरें।

शहर बजारका अस्पताल र काभ्रेमा आउने बिरामीको अवस्था कस्तो पाउनुभयो ?

जनचेतनाको आधारमा हेर्ने हो भने शिक्षित परिवार बढी सचेत भएका कारण छिटो उपचारमा आउने पाइयो। बिरामीको जीवनस्तरमा भर पर्दो रहेछ। हुनेखाने अलिकति धमिलो हुँदा पनि आउँछन्। यो ठाउँको कारणले भन्दा गरिबीले नै हो। शहरको दाजोमा ग्रामीण भेगमा बसोबास गर्ने मानिसमा जनचेतना, आर्थिक अभावले गर्दा उपचारको पहुँचमा पुग्न ढिलो भएको पाइयो।

यस्ता बिरामीलाई लक्षित गरी यो अस्पतालले काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ६ मा मुख्य कार्यालय राखी नमोबुद्ध नगरपालिका २ भकुण्डे, धनुषाको मिथिला नगरपालिका ६ ढल्केबारमा पनि आँखा उपचार केन्द्र स्थापना गरेको छ। साथै सिन्धुपाल्चोकको खाँडीचौर र काभ्रेको पनौती नगरपालिका कुशादेवीमा पनि महिनाको एक पटक स्याटलाइट क्लिनिक सञ्चालन गरी बिरामीको पहिचान गर्छौं र थप उपचारका लागि बनेपा ल्याउने व्यवस्था गरेका छांै।

यो प्रक्रिया खर्चिलो होला नि त ?

रेयुकाई आँखा अस्पताललाई स्थानीय निकायहरूको सहयोग र सद्भाव भएकै कारण त्यति कठिन छैन। नमोबुद्ध, बनेपा, पनौती नगरपालिकाले आफ्ना नागरिकको आँखा स्वास्थ्यप्रति सकारात्मक सोच राखेर स्वास्थ्य शिविरबाट शल्यक्रियाका लागि छनोट भएका आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि निःशुल्क शल्यक्रिया गराउने कार्यमा तीनैवटा नगरपालिका र आँखा अस्पतालबीच समझदारी भएको छ।

तपाईंलाई आँखा रोग विशेषज्ञ बन्न केले प्रेरित ग¥यो ?

शुरूमा चिकित्सक बन्छु र आँखासम्बन्धी विशेषज्ञ बन्छु भन्ने भित्र मनमा थियो। मेरी हजुरआमाले आँखा नदेख्दा बूढी हुनुभयो अब देखिन्न भनिएको रहेछ। यसै कारणले उहाँले अन्धकारको जीवन जिउन बाध्य हुनुभयो। जब मैले पढ्दै गए बुढ्यौली लागे पनि आँखाको ज्योति फिर्ता नहुने भन्ने गलत रहेछ। उपचार गरेपछि फेरि पनि देख्न सकिने रहेछ भन्ने थाहा पाएँ। त्यसपछि मलाई आँखाको विशेषज्ञ सर्जन हुने चाहना झन् बढ्यो र विशेषज्ञ बन्ने अठोट गरे।

तपाईंले चिकित्सा पेसा नै किन रोज्नुभयो ? अरू पनि विषय थिए होलान नि ?

बाल्यकालमा दशैंमा टीका लगाउँदा ठूला बडाले आशीर्वाद दिँदा नै डाक्टर बनेस्, इन्जिनियर बनेस् भनेर आशीर्वाद दिनुहुन्थ्यो। यो आशीर्वादले डाक्टर, इन्जिनियर बन्यो भने ठूलो मान्छे, राम्रो हुने रहेछ भन्ने सोच मनमा गढेर बसेको थियो। आईएससी सकेपछि कि डाक्टर कि इन्जिनियर बन्नुको विकल्प थिएन। घरको दबाब एमबीबीएस गर्नेमै भयो। मेरो मनमा पनि मैले पढेर समाजका लागि केही न केही गर्नुपर्छ भन्ने सानैदेखि छाप परेको थियो।

स्वास्थ्य अनुसन्धानले धेरै नेपालीमा मोतिबिन्दु हुनुको कुनै कारण पहिचान गरेको छ कि ?

यो रोग उमेरकै कारणले धेरैमा लाग्ने हो। पहिला पहिला अहिलेभन्दा कम आयु भएका कारण पनि बिरामी कम देखिएको हुन सक्छ। आँखाको लेन्स पनि कपाल फुले जस्तै फुल्छ, यसका साथै सूर्यको विकिरण प्रत्यक्ष आँखामा पर्दा, गर्भवती अवस्थामा आमाले कुनै औषधि खाँदा पनि मोतिबिन्दु हुनसक्छ। यसले जन्मजान नै हुने मोतिबिन्दु निम्त्याउँछ। बच्चामा कुपोषण भयो भने, जन्मिसकेपछि चोटपटक लागेर, छालासम्बन्धी रोग लागेर पनि मोतिबिन्दु हुन सक्छ। तर मुख्य भनेको ५० वर्ष उमेर कटेका धेरै उमेर भएका व्यक्तिमा यो रोग पाइएको छ।

मोतिबिन्दुको न्यूनीकरण गर्न केकस्ता उपाय अपनाउनुपर्छ ?

अहिलेसम्म औषधि नै निस्किएको चाहिँ छैन परीक्षण भने भइरहेको छ। मुख्य रोकथाम भनेको शल्यक्रियानै हो। शुरूमै बिरामीले थाहा पाएको खण्डमा नयाँ फेको प्रविधि आएको छ यसको माध्यमबाट उपाचार गरेर राम्रो ज्योति फर्काउन सकिन्छ। प्रमुख त जनचेतना नै हो आँखा धमिलो देखिएको खण्डमा एकपटक आँखा परीक्षण गराउनुपर्छ।

फेको प्रविधि भनेको के हो र यसबाट आँखाको उपचार कसरी गर्नेे ?

पहिला फेको प्रविधि नहुँदा हातबाट नै अप्रेसन गरिन्थ्यो र अहिले पनि कतिपय स्थानमा फेको प्रविधि नभएका कारण हातबाट नै अप्रेसन गरिन्छ। हातले गर्दा ठूलो चिरा पारेर अप्रेसन गर्नुपर्छ यसो गर्दा घाउँमा संक्रमण हुने डर हुन्छ। फेको मेसिनबाट अप्रेसन गर्दा सानो चिरा पारेर अप्रेसन गर्छौं र त्यसमा लेन्स छिराउँछौं। यसो गर्दा अप्रेसनपछि चाँडो घाउ निको हुने, आँखा पनि धेरै रातो नहुने, संक्रमण हुने सम्भावना कम हुने हुन्छ। साथै पछि चस्मा लगाउनुपर्ने बाध्यता कम हुने हुन्छ। फेको प्रविधिबाट आँखाको अप्रेसन गर्दा बिना इन्जेक्सन पनि गर्न सकिन्छ।

कुनै बिरामी इन्जेक्सन लगाउन डराउने हुन्छन् त्यस्तोलाई नलगाई पनि गर्न सकिन्छ। फेको प्रविधि बिरामीको छनोटमा पर्नुको अर्को कारण आँखामा पट्टी लगाउनु नपर्नु पनि हो।

मोतिबिन्दुको शल्यक्रिया गरिसकेपछि आँखाको सुरक्षा कसरी गर्नुपर्छ ?

यो अत्यन्तै महŒवपूर्ण र समसामयिक विषय उठाउनुभयो। कतिपय बिरामी अप्रेसन गरेपछि आफै ठीक हुन्छ भन्ने ठान्नुहुन्छ। अप्रेसनपछि पनि त्यस्तो हुँदैन। आधा रोग बिरामीकै कारणले निको हुने र नहुने हुन्छ। ६ हप्तासम्म बिरामीले नियमित औषधि प्रयोग गर्नुपर्ने हुन्छ। धूँवा, धूलोबाट बचाउनुपर्ने हुन्छ। शुरूको केही समय शल्यक्रियापछि कालो चस्मा लगाउन सल्लाह दिन्छौं। सकेसम्म आँखामा साबुन पानी पार्नुहुन्न। चिकित्सकको सल्लाहअनुसार सुरक्षा अपनाउने गर्नुपर्छ। यसो नगरे पुनः आँखाको ज्योति गुम्न सक्छ।

अहिलेसम्म आँखा उपचारका लागि आएका जति पनि केशहरू छन् कति प्रतिशत पूर्ण निको हुन्छन् ?

कुनै पनि रोगको उपचार शतप्रतिशत भन्ने हुँदैन। शल्यक्रिया गरिसकेपछि पनि ज्योति नआउनु भनेको मोतिबिन्दु धेरै पाकिसकेपछि चिकित्सकीय परीक्षणमा पर्दा देखिँदैन। पर्दाको अवस्था कस्तो छ भन्ने थाहा हुन्न।

त्यसैले आँखाको शल्यक्रिया गर्नु पहिला नै हामीले बिरामीलाई जानकारी गराएका हुन्छौं तपाईंको पर्दा राम्रो छ भने ज्योति आउँछ नत्र आउँदैन। पर्दा प्वाल परेको, आँखाको नसा सुकेको अवस्था छ भने शल्यक्रिया गरिसकेपछि पनि नदेख्ने सम्भावना हुन्छ। कसैकसैको भने बाल्यकालमै आँखामा चोट लागेको र त्यही आँखामा मोतिबिन्दु भएको छ भने शल्यक्रिया गरिसकेपछि पनि त्यो आँखामा ज्योति फर्काउन सकिँदैन। मुख्य गरी पर्दा र आँखाको नसामा कुनै पनि चोट छ भने मोतिबिन्दुको शल्यक्रिया गरिसकेपछि पनि ज्योति फर्काउन गाह्रो हुन्छ।

मधुमेहका बिरामीमा पनि कसैको ज्योति फर्कने र कसैको नफर्कने किन हुन्छ ?

यसलाई रेटिनोप्याथी भनिन्छ, पर्दामा रहेको सानो सानो नलीहरूलाई मधुमेहले हानी पु¥याउने गर्छ। सानो सानो नलीहरू फुटेर भित्रै रगत जमेको छ भने शल्यक्रिया गरिसकेपछि पनि भर गर्न गाह्रो हुन्छ। यस्तो समस्या मधुमेह मात्र नभई उच्च रक्तचाप भएका बिरामीमा पनि पर्दाको रक्तनली फुट्ने, पर्दामा दाग लाग्ने, पर्दा सुक्ने जस्ता समस्याहरू देखा पर्छन्।

बिरामी नै हुन नदिन के गर्नुपला ?

मधुमेह र उच्च रक्तचापलाई अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ। यी दुई रोग नियन्त्रण गरेको खण्डमा रोगमा कमी आउँछ। मोतिबिन्दु जस्तो बुढ्यौलीमा लाग्ने रोगमा यो नै भन्ने हुँदैन र रोग नै लाग्न नदिनेभन्दा पनि छिटोभन्दा छिटो उपचारको पहँुचमा पुगेर समयमा उपचार गरे निको हुन्छ।

आँखासम्बन्धी रोग कति प्रकारका हुन्छन् ?

धेरै प्रकारका हुन्छन्, बसाइ, रहनसहन, काम गर्ने कार्यशैली हेरेर हुन्छ। आजभोलि धेरै देखिएको कम्प्युटर भिजन सिन्ड्रम, कम्प्युटर, ग्याजुएट, मोबाइल धेरै चलाउनेलाई आँखा पोल्ने, बिजाउने समस्याहरू देखिएको छ। तर यस्तो भएमा कम्प्युटरबाट आउने ज्योति, आँखालाई रसिलो राख्ने, आँखाको व्यायाम गरेर बच्न सकिन्छ। आँखाको परेलामा फोहोर टाँसिने, आँखा पाक्नेजस्ता समस्याको समयमै उपचार नगरे आँखा अल्छीसमेत हुन सक्छ। बालबालिकाको आँखा परीक्षण ढिलो गर्दा र चस्मा समयमा नपाएका कारण आँखा अल्छी भइसकेको हुन्छ। समयमै चस्मा पाएको भए आँखा राम्रो हुने थियो।

बच्चा जन्मनेबित्तिकै आँखा परीक्षण गराउनुपर्ने हो ?

बच्चा हिँड्ने डुल्ने भएपछि जतिसक्दो चाँडो परीक्षण गराउनु राम्रो हुन्छ। आँखाको नानी कालो हुनुपर्ने ठाउँमा सेतो भएको छ, आँखाको नानी ठूलो भएको छ, रातो पनि हुन्छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ।

आँखा डेढो हुनु रोग हो कि जन्मजात समस्या ? यसको उपचार हुन्छ कि हुँदैन ?

कारण पत्ता लगाउनुपर्ने हुन्छ यस्तो हुनुको प्रमुख कारण दुईटा आँखाको मांसपेसीको ब्यालेन्स नमिलेर, आँखाको तेज (पावर) एउटा आँखामा बढी र एउटा आँखामा कम भएर एउटा आँखाको प्रयोग बढी भएर पनि त्यस्तो देखिन्छ। कारण पत्ता लगाएर आँखाको ज्योति फिर्ता ल्याउने र आँखालाई सोझ्याउने पनि शल्यक्रिया हुन्छ। कहिलेकहीं एउटा आँखा सानो एउटा आँखा ठूलो परेला खसेर पनि हुन्छ। आँखा डेढो भयो उपचार लाग्दैन भन्नु भ्रम हो उपचार गरेर दुवै आँखा समान बनाउन सकिन्छ।

तपाईंले अहिलेसम्म कति बिरामीको शल्यक्रिया गर्नुभयो ?

२५ हजारको हाराहारीमा शल्यक्रिया गरिसकें।

यस अवधिमा तपाईंले बिर्सनै नसक्ने घटना छन् कि ?

बिरामीलाई निको पार्न उपचार गरिन्छ। कहिलेकाहीं उपचार गर्दा पहिला नै पर्दामा दाग भएको देखिन्न। यस्तो अवस्थामा बिरामीको उपचारपछि पनि ज्योति नर्फकँदा तपार्इंले आँखा देख्नुहुन्न भन्नुपर्दा साह्रै दुःख लाग्छ। बिरामीका लागि केही उपाय लगाउन पाए हुन्थ्यो भन्ने लाग्छ। आँखा उपचारमा यस्तो घटना धेरै हुन्छन्।

अहिलेसम्म पर्दाको दाग हटाउने प्रविधि आएकै छैन ?

रेटिना प्रत्यारोपणका विषयमा अध्ययन भइरहेको छ। अहिलेसम्म विश्वमै रेटिना प्रत्यारोपण उपचार छैन।फेको प्रविधि नेपालमा सहज छ।
ठूला अस्पतालमा छ।

कतिको महँगो छ ?

हातले गर्नेभन्दा केही महँगो पर्छ।

अन्तमा केही भन्नु छ कि ?

आँखा उपचारका लागि अबका दिनमा काठमाडौंमा नै पुग्नुपर्छ भन्ने छैन रेयुकाई अस्पतालले नै दिन सक्छ। मधुमेह र उच्च रक्तचापका बिरामीले प्रत्येक ६ महिनामा परीक्षण गरेर मात्र औषधि प्रयोग गर्नुस्। आँखाका बिरामीले सामान्य नसम्झनुहोला अस्पतालमै परीक्षण गरेर मात्र औषधिको प्रयोग गर्नुस्। गलत औषधिको प्रयोग भयो भने आँखाको ज्योति नै गुम्न सक्छ।

बिरामीलाई निको पार्न उपचारगरिन्छ। कहिलेकाही उपचार गर्दा पहिला नै पर्दामा दाग भएको देखिन्न। यस्तो अवस्थामा बिरामीको उपचारपछि पनि ज्योति नर्फकदा तपाईले आँखा देख्नुहुन्न भन्नुपर्दा साह्रै दुःख लाग्छ।