बाढीमा फसेकाको उद्धार

0
Shares

नेपाल समाचारपत्र, बाँके ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले राप्ती नदीमा आएको बाढीमा ५÷६ जना फसेको जानकारी दिए । राप्ती नदीले चारैतिर घेरेको कृषि चौफेरी भन्ने ठाउँमा ती मान्छेहरु फसेका थिए ।

घटनाबारे थाहा पाउने बित्तिकै नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोली रबरको बोट लिएर कृषि चौफेरी पुगे । नभन्दै ६ जना मानिस डुवानको जोखिममा परेका रहेछन् । सेना र सशस्त्र प्रहरीको उद्धार टोली पुग्दा उनीहरु नदी किनारमा आधा डुबेको अवस्थामा थिए । सबैलाई सेना र सशस्त्र प्रहरीले उद्धार गरेर बाहिर ल्याए ।

नदीको वारी खल्ला झगडियामा ल्याएपछि डुवान पीडितलाई जिल्ला रेडक्रसको टोलीले उपचार ग¥यो । केहीबेरमा सबैजना ठिक भए ।
नदीमा केही मान्छे फसेको, उद्धार गर्न सेना र सशस्त्र प्रहरीको टोली कृषि चौफेरी गएको गाउँलेले खुब ध्यान दिएर हेरिरहेका थिए । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख बुढाथोकीले ५÷६ जना नदीमा फसेको कुरा माइकमा भनेका थिए । केहीले घटनाक्रमलाई बढो चाख मानेर नियालिरहेका थिए ।

यो घटना भने वास्तविक थिएन । जिल्ला विपत व्यवस्थापन समितिले बाढी विपत सम्बन्धमा कृत्रिम घटना अभ्यास गरेको थियो । बाढी फसेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो । राप्ती नदीमा बाढी आउदा पहिला डुब्ने गाउँ नै कृषि चौफेरी भएकाले केहीले कृत्रिम घटना अभ्यासलाई वास्तविक रुपमा बुझेका थिए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेल, एसपी वीरबहादुर वली, सशस्त्रका एसपी दीपक अधिकारी, जिल्ला रेडक्रसका गोवद्र्धनसिंह सम्झना, दोलख डाँगीको उपस्थितिमा नेपाली सेना र सशस्त्र प्रहरीले डुवानमा परेकालाई उद्धार गर्ने बारेमा कृत्रिम घटना अभ्यास गरेका थिए । खासमा कृत्रिम अभ्यास विश्व खाद्य कार्यक्रमले दिएको मोटर बोटबाट गर्ने कार्यक्रम थियो । अन्तिम समयमा त्यो बोट नचलेपछि दुई वटा रबर बोटमा कृत्रिम अभ्यास गरिएको थियो ।

भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दशगजामा सडकजस्तो बाँध बनाएकाले जिल्लाको नदी तटीय क्षेत्र डुवानको जोखिममा पर्ने गर्दछ । यो वर्ष डुवान आएको छैन । यद्यपि, जिल्ला विपत व्यवस्थापन समितिले उद्धार टोली तयारी अवस्थामा राखेको छ । त्यही उद्धार टोलीले सोमबार खुल्ला झगडियामा पुगेर कृत्रिम अभ्यास गरेका थिए ।

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले डुवानमा फसेकालाई बोटमा राख्ने, बाहिर ल्याउनेदेखि बीचमै बोट पल्टिएमा उद्धार गर्ने तरिकाहरु देखाएका थिए ।