हर्मन माइनरमा भेन्डिङ मेसिन जडान

0
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर ।
विद्यालयमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । महिनावारीको समयमा उनीहरुको पढाइमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ ।

शुक्रवारदेखि संचालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपियाँको सिक्का हालेपछि प्याड निस्कन्छ । विद्यालयका छात्राको लागि सञ्चालन गरिए पनि शिक्षिका, एसओएस बालग्रामका आमा र अन्टीहरुले पनि प्याड प्रयोग गर्न गर्नेछन् ।

छात्राहरुको लागि आधुनिक सुविधायुुक्त स्यानेटरी प्याड भेन्डिङ मेसिन संचालन गर्ने हर्मन माइनर कर्णाली प्रदेशकै पहिलो विद्यालय पनि बनेको छ ।
विद्यालयले स्यानेटरी प्याड मेसिन जडान गरेपछि आफुहरु निकै सहज हुने छात्राहरुले बताए । अब म्याडमहरुसँग प्याड मागिरहनु पर्दैन्, उनीहरुले भने ।
महिनावारीको वेला छात्राहरूले शारीरिक र मानसिक रूपमा कमजोर महशुस गर्ने भएकोले उनीहरुलाई सहज वातावरण दिएर पढाईमा सघाउन मेसिन संचालन गरिएको विद्यालयका प्राचार्य जगदिश ढकालले बताउनुभयो ।

‘एउटा प्याडको ८ रुपियाँ पर्छ,’ उहाँले भन्नुभयो– ‘विद्यालर्थीले दुई र पाँच रुपैयाको सिक्का राखेर प्याड प्रयोग गर्ने भएकोले वाकी खर्च विद्यालयले व्यहोर्छ । ’

विद्यालयमा ६ देखि १२ कक्षामा अध्ययनरत २ सय ४० जना किशोरीले सहज रुपमा मेसिनको प्रयोग गर्ने सहायक प्राचार्य हरिहर बस्नेतले बताउनुभयो । ‘छात्राहरुलाई विद्यालयले पहिला पनि प्याड उपलव्ध गराउँथ्यो’, उहाँले भन्नुभयो– ‘म्यामहरुसँग माग्नुपर्ने भएकाले प्रभावकारी हुन सकेन् । अब चाहिएको वेला प्याड प्रयोग गर्न उनीहरु स्वतन्त्र छन् ।’

प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले मेसिनले छात्राहरुको पढाईमा सघाउने बताउनुभयो । ‘सवैले महिनावारी समस्यालाई हल्का रुपमा लिएको पाइन्छ’, डा. केसीले भन्नुभयो– ‘महिलाहरुको शारीरिक र मानसिक विकाससँग जोडिएको मुद्दालाई गम्भिर रुपमा लिनु जरुरी छ । अनि मात्र हामीले परिकल्पना गरेको समानताको अधिकार र समृद्धिको सपना पुरा हुन्छ ।’

 

देशकै उत्कृष्ट विद्यालयमध्येको एक हर्मन माइनर सुर्खेतले भेन्डिङ मेसिन राखेर आफुलाई अझ अव्वल बनाएको बीरेन्द्रनगर ४ का वडाध्यक्ष निलकण्ठ खनालले बताउनुभयो ।

एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले मेसिनको प्रयोगबाट छात्राहरुको शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिनावारी हुँदा पनि ढुक्कसँग विद्यालयमा आउने र पढने वातावरण सृजना हुने उहाँले बताउनुभयो ।

सरकारले सवै विद्यालयमा यो मेसिन जडान गर्ने नीति ल्याउनुपर्ने स्वास्थ्य कार्यकर्ता सीता शर्माले बताउनुभयो ।

कर्णाली प्रदेशका मात्र हैन, देशैभरिका विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था नहुँदा छात्रा महिनावारी भएको बेला विद्यालय आउँदैनन् । जसको कारण उनीहरुको पढाई छुट्ने गरेको पाइन्छ । त्यसैले यो मेसिन सवै विद्यालयले संचालन गर्न आवश्यक रहेको विद्यालयको भनाई छ । विद्यालयले भेन्डिङ मेसिन जडान गर्नुको साथै महिनावारी हुँदा छात्राहरुको लागि आराम गर्ने कक्ष पनि बनाएको छ ।