नेपाल–भारत सीमा क्षेत्रमा ३९ वटा सीमा स्तम्भ गायब

0
Shares

गणेश घिमिरे, इलाम ।
पूर्वी इलामको नेपाल–भारत सीमा क्षेत्रमा ३९ वटा मुख्य र सहायक सीमा स्तम्भ हराएका छन् । वर्षौंअघि हराएका यी सीमास्तम्भ पुनर्निर्माण नगर्दा सिमानामा भारतको चलखेल बढ्दो क्रममा छ ।

सिमा क्षेत्रका नेपालीलाई भारतीय एसएसबीले बिभिन्न बहानामा दुख दिँदै आएको छ । सशस्त्र प्रहरी बल पशुपतिनगर स्थित सिमा सुरक्षा पोष्टका अनुसार पछिल्लो विवरण अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट ३९ वटा मुख्य र सहायक सीमा स्तम्भ हराएको हो । जसमा एउटा जंगे पिलर, १३ मध्यम पिलर र २५ वटा साना पिलर हराएका हुन् ।

जिल्लाका ९ ठाउँमा अहिले पनि सीमा विवाद छ । नेपालतर्फ पशुपनितगरमा सशस्त्रको एउटा मात्र सीमा सुरक्षा पोस्ट छ । त्यो पोष्टले भारतसंग सिमा जोडिएको इलामका साडे ५२ किलोमिटर सिमा क्षेत्रको सुरक्षा गर्नुपर्ने बाध्यता छ । उता भारतर्फ भने चार÷चार किलोमिटरको फरकमा सिमा सुरक्षा बल एसएसबीको बेस क्याम्प रहेको छ ।

नेपाल–भारत सिमानाको ५२ किलोमिटर क्षेत्रका बासिन्दा कुनै कुनै कारणबाट एसएसबीबाट पिडीत बन्दै आएका छन् । एक महिनायता पशुपतिनगर नाकाबाट तरकारीसमेत छिर्न नदिएपछि स्थानीयले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए । एसएसबीले पछिल्लो समयमा दशगजा आसपासमा सक्रियता बढाएर नेपालीलाई नेपालभित्रै आएर दुःख दिने क्रम बढ्दै जान थालेको हो । नेपालीलाई घर बनाउने देखि बाटो नै बन्द गरीदिने जस्तो प्रबृति बढाएको छ ।

पछिल्लो घटनामा दुईहप्ता अघि सूर्योदय नगरपालिका २ को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा खाल्डो खनेर आवातजावतमै रोक लगाएको थियो । नेपालीले प्रयोग गर्ने वैकल्पिक सडकबाट विषादी मिसिएको तरकारी भारततर्फ गएको भन्दै एसएसबीले सडक अवरुद्ध गरेको थियो । तर एक÷दुईदिनपछि एसएसबी आफैंले दशगजा क्षेत्रमा खनेको खाल्डो पुरेको थियो । अहिले सिमानामा यस्तै थिचोमिचोका घटना बढ्दै गएको हो ।