रक्सी छाड्दा ५० हजार

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रीबितरण नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण न्यून गर्ने अभियानस्वरुप महिलालाई उक्त व्यवसाय परिर्वतन गर्न आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्रीबितरण गर्दै आएका महिलालाई पेशा परिवर्तन गर्न ५० हजार रुपियाँ सहयोग गरेको छ । घरेलु मदिरा उत्पादन निर्मूल पार्ने उद्धेश्यसाथ गाउँपालिकाले वडा नम्बर–४ का ११ महिलालाई ५० हजारका दरले रकम सहयोग गरिएको छ ।

गाउँपालिकाले घरेलु मदिरा उत्पादन निरुत्साहित गर्न सामाजिक व्यवहार सुधार ऐन निर्माण गरेर काम सुरु गरेको छ । ‘हाल एउटा वडामा नमूनाका रुपमा सुरु गरेका छौं, त्यसको असर हेरेर अन्य वडामा कार्यक्रम लागु गर्ने योजना छ,; उहाँले बताउनुभयो ।

गाउँपालिकाले मदिरा उत्पादन छाडेर कृषि र पशुपालनमा लाग्न उनीहरुलाई सहयोग गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभएको छ । विगतमा घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण गर्दै आएका महिलाले पेशा परिवर्तन गर्दै कृषि र पशुपालनमा लाग्ने प्रतिवद्धता व्यक्त गरेपछि वडा कार्यालय र टोल विकास संस्थाको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।