बेलायतमा हाइक फर नेपाल

नेपालका लागि सँगसँगै पाइला चालाैं

0
Shares

नेपाल समाचारपत्र, बेलायत ।
नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन हेतु बेलायतको वेल्समा लामो दूरीको पैदलयात्रा आयोजना गरियो । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त ठाउँलाई करिब चार घण्टा नेपालमय बनायो । वि विल राइज फाउन्डेसन र पोखरेली मञ्च यूकेको संयुक्त प्रयासमा आयोजित ९ किलोमिटर पैदलयात्रामा करिब ३ सय जनाको सहभागिता थियो ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुसीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।

आयोजना स्थलमा भूकम्पले ढलेको आकर्षक धरहराको निर्माण गरी दीप प्रज्जवलन समेत गरिएको थियो । भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृति सँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस् भन्ने सन्देश स्वरुप यस्तो प्रतिमूर्ति बनाइएको हो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनुपर्ने उल्लेख गर्दै माउन्ट एभरेस्ट नामकरण गर्ने सर जर्ज एभरेस्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताउनुभयो । आयोजक पोखरेली मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीबीच सद्भाव, भ्रातृत्व र सौहार्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा त्यहाँस्थित स्थानीय नेताहरुको समेत बाक्लो सहभागिता थियो । आयोजनास्थल सुन्दर सहर ब्रेकन र धम्पुस बीच हालै मात्र मितेरी साईनो गाँसिएको छ । ‘नेपालका लागि सँगसँगै पाईला चालांै’ भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइकिङ ‘हाइक फर नेपाल’ तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो । यस्ता प्रकृतिका कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै फाउण्डेसनका संस्थापक गुरुङले सबैलाई आआफ्नो मुलुकबाट पहलका लागि अनुरोध गर्नुभयो ।