युरोपमा नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विदेशमा रहेका गैरआवासीय नेपालीलाई गैर आवासीय नागरिकताको व्यवस्था कार्यान्वयन गराउन गैर आवासीय नेपाली संघ (एनआरएन)ले सरकारको ध्यानाकर्षण गराएको छ ।

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न संविधानले गरेको यस्तो व्यवस्था कार्यान्वयनका लागि तत्काल स्पष्ट कानूनको खाँचो औल्याइएको छ । यस्ता विविध विषयबारे ध्यानाकर्षण गराउँदै एनआरएनए युरोपको १२औं क्षेत्रिय बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको कानूनी रुपमा संरक्षण हुने व्यवस्थाका साथै नेपालको निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्र्न माग गरिएको छ ।

इटालीको राजधानी रोममा आइतवार सम्पन्न तीन दिने बैठकले १७ बुँदे घोषणापत्र जारी गरेको छ । नेपालका हवाइ कम्पनीलाई युरोपेली संघ (ईयू) ले लगाएको कालोसूचीबाट हटाउन पहल गर्दै हवाई सेवा यूरोपमा विस्तार गर्न जरुरी रहेकोमा बैठकका सहभागीले जोड दिए । नेपालको कृषि, जलविद्युत, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामुहिक लगानी गर्ने वातावरण बनाइनुपर्ने उनीहरुको भनाई थियो ।

यही अवसरमा नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउने अभियानमा ऐक्यवद्धता जनाउँदै अभियानमा होमिन सम्पूर्ण यूरोपबासी नेपालीलाई आवहन गरिएको एनआरएनए यूरोपका क्षेत्रीय संयोजक शिवकुमार बरुवालले बताउनुभयो । यही बैठकमा नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष भवन भट्ट वीच भ्रमण वर्षको प्रचार–प्रसार र अन्य सहकार्य गर्नेबारेको सहमतिपत्रमा हस्ताक्षर भएको छ । यससँगै यूरोपमा भिजिट नेपाल २०२० को औपचारिक शुरुवात भएको एनआरएनएका इटाली शाखाका महासचिव छविलाल कँडेलले बताउनुभयो ।

सो जमघटमा यूरोपेली मुलुकका सबै दूतावास र नियोगका राजदूत एवं प्रतिनिधीको सहभागिता रहेको स्पेनका लागि कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले जानकारी दिनुभयो । एनआरएनएका तर्फबाट नेपालका विविध परियोजनामा हुने लगानीका लागि दूतावासले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने प्रतिवद्धता आएको उहाँले बताउनुभयो । ‘बैठकमा सहभागी राजदूतहरुले नेपालको आर्थिक कुटनीतिलाई फराकिलो बनाउन जोड दिनु भएको छ, व्यापार, लगानी, पर्यटन, बैदेशिक रोजगारलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता आएको छ’–पौडेलले भन्नुभयो ।

बैठकमा कानुनमन्त्री भानुुभक्त ढकाल, नेपाली कांग्रेसका नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट सहित पूर्व अध्यक्षहरु, नेपाली होटल व्यवसायीको सहभागिता रहेको थियो । यूरोपेली मुलुकका २२ वटा राष्ट्रिय समन्वय परिषद्का तीन सय ५० भन्दा बढी प्रतिनिधीको सहभागिता रहेको कँडेलले जानकारी दिनुभयो ।