बिन लादेन पुत्र हाम्जा मारिएको दाबी

0
Shares

वासिंगटन,(एजेन्सी) ।
अन्तर्राष्ट्रिय लडाकु समुह अल–कायदाका नाइके ओसामा बिन लादेनका छोरा हाम्जा मारिएको अमेरिकी अधिकारीहरुलाई हवाला दिँदै अमेरिकी संचार माध्यमले जनाएको छ ।

पछिल्लो समय अमेरिकी सरकारको अत्यधिक खोजीको सूचीमा राखिएका हाम्जाले आफू अल–कायदाको नेता भएको सार्वजनिक रुपमा बताउँदै आएका थिए । अमेरिकी संचार संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हाम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ । तर ती अधिकारीहरुले हाम्जाका बारेमा थप विस्तृत विवरण दिन अस्वीकार गरेको पनि बताइएको छ ।

तर हाम्जाको मारिएको भन्ने खवरबारे अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा केहि पनि बताउन अस्वीकार गरका छन् । ट्रम्पले बताएकाछन्, ‘ यस सम्बन्धमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्न । ’ तर अहिले सन् २०१९ को फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हाम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

सन् २००१ को ११ सेप्टेम्वरमा लादेनकै निर्देशनमा अलकायदाका लडाकुहरुले अमेरिकाका विभिन्न स्थानमा उडिरहेका विमान मार्फत आत्मघाती आक्रमण गर्दा झण्डै तीन हजार व्यक्तिको ज्यान गएको थियो ।

त्यसको लगत्तै तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले विश्वव्यापि रुपमा आतंकवाद विरुद्ध सैनिक कारवाही थालेको थिए । फलस्वरुप अफगानिस्तानमा तालिवान सरकारलाई अपदस्थ गरियो भने इराकमा सद्धाम हुस्सेनको पतन हुन पुगेको थियो ।

हाम्जा बिन लादेनका २० जना सन्तान मध्ये हम्जा १५ औं सन्तान हुन् । लादेनकी तेस्रो पत्नीको कोखबाट जन्मेका हाम्जा करिव ३० वर्षको उमेरको रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले लादेनको उत्तराधिकारीका रुपमा हाम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।


‘जिहादी राजकुमार’ का रुपमा समेत चिनिने हाम्जाले समय समयमा अडियो र भिडियो सन्देश मार्फत अमेरिका र त्यसको गठबम्धन मुलुकहरुमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए । खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना पिता ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हाम्जाले दिएको अमेरिकी विदेश मन्त्रालयको दाबी रहेको छ । अमेरिकी विशेष कमान्डो टोलिले पाकिस्तानको एवोत्तावाद स्थित पाकिस्तानी सैनिक अखडा नजिकको एउटा घरमा लुकिरहेका लादेनको सफाया गरेको थियो ।

लादेनको उक्त घरबाट बरामद गरिएका कागजातमा हाम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउने कार्यको थालनी भइसकेको उल्लेख गरिएको थियो । त्यसैगरी हाम्जाको विवाह सम्बन्धी अर्को भिडियोमा हाम्जाले अल–कायदाका एकजना वरिष्ट सदस्य अब्दुल्लाह अहमद अब्दुल्लाहकी छोरीसँग विवाह गरेको देखिएको थियो । अब्दुल्लाह माथि सन् १९९८ मा तान्जानिया र केन्या स्थित अमेरिकी दुतावासमा भएका बम आक्रमणमा संलग्न रहेको अभियोग लागेको थियो ।

विश्वमै इस्लामिक जिहाद फैल्याउने मुख्य जिम्मेवारी प्राप्त व्यक्तिको रुपमा हेरिएका हाम्जाको साँच्चै हत्या भएको हो भने त्यसले इस्लामिक आन्दोलनमा ठूलो क्षति पु¥याउने अतिवादी संगठनहरुका विषयमा लामो समय देखि अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजले बताएकीछिन् ।

हाम्जालाई इरानमा नजरवन्दि बनाइएको बताइए तापनि केहिले उनी इरानमा नभई पाकिस्तान र अफगानिस्ताबिचको सिमा क्षेत्रमा बस्दै आएको बताएका छन् । पछिल्लो समयमा अर्थात सन् २०१८ को मार्चमा अरवी प्रायद्विपमा रहेका जनतालाई क्रान्ति गर्न हाम्जाले आव्हान गरेको विज्ञप्ति सार्वजनिक भएको थियो । उनलाई गत मार्चमा सायदी अरेवियाले नागरिकताबाट च्युत गरेको थियो ।

अमेरिकामा अलकायदाको आक्रमण हुँदा लगायत हाम्जा प्रायशः आफ्ना पिता विन लादेनको निकट रहेको बताइएको छ ।