छानबिन समिति नबनेसम्म संसद् अवरुद्ध

0
Shares

काठमाडौं, (नेस) ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनाबारे छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध गरेका छन् । बुधबार संसद् बैठक सुरु हुनासाथ कांग्रेस र राजपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सर्लाही घटनाको बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै दुई दलले समिति गठन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न पटक–पटक अनुरोध गर्दा पनि सांसदहरुले अस्वीकार गर्दै संसद अवरुद्ध गरेका हुन् ।

सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख महराले लगत्तै शून्य समय प्रारम्भ भएको जानकारी गराउनुभएको थियो । तर दुवै दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजीपछि सभामुख महराले बैठक बिहीबारसम्मका लागि स्थगित गर्नुभएको थियो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजकिशोर यादवले सभामुख महराले सर्वदलीय बैठकमार्फत समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सर्लाही घटनाको बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ, समिति गठन नभएसम्म संसद चल्न दिदैनौ ।’

सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गर्दैआएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अवरोधपछि तीन–चार पटक बैठक बसिसकेको बताउनभुयो । ‘यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन’, उहाँले भन्नुभयो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको छानबिन गर्नुपर्ने माग गर्दा सरकार र सभामुखले नसुन्नु भनेको घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले उक्त घटनाका सम्बन्धमा सरकारले स्पष्टीकरण दिए पनि संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने प्रतिक्रिया दिनुभयो । बुधवार ४५ मिटेको अवरोधपछि संसद बैठक स्थगित भएको थियो ।