१७ महिनापछि आयो भट्टराईको पालो

0
Shares

काठमाडौं, (नेस) ।
कम्युनिष्ट विद्यार्थी आन्दोलनदेखिका नेता योगेश भट्टराईले बल्ल मन्त्री पद पाउनुभएको छ । प्रत्यक्ष सांसद् बनेलगत्तै उहाँ मन्त्री बन्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिले ‘ट्युनिङ’ नमिल्दा उहाँलाई उक्त अवसर जुटेको थिएन ।

यद्यपि प्रधानमन्त्री ओलीले १७ महिनापछि उहाँलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गर्नुभयो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री बामदेव गौतमतिरको ‘लिगेसी’ तोड्न ओलीले भट्टराईलाई आफू विदेश जानुअगावै छिट्टै मन्त्री बनाएको एउटा वृत्तमा विश्लेषण भएको छ ।

मन्त्री भट्टराईले बुधबारै प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनियताको सपथ लिनुभयो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको थियो ।

मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको रुपमा चुनिनुभएको थियो । निर्वाचनको क्रममा तत्कालिन पार्टी अध्यक्षको रुपमा चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताएर पठाएको अवस्थामा मन्त्रीबनाउने घोषणा गर्नुभएको थियो । पहिलो चरणको मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा प्रधानमन्त्री ओलीको समेत आलोचना भएको थियो । अन्ततः प्रधानमन्त्री ओलीले निर्वाचन प्रचारको क्रममा आफूले गरेको प्रतिबद्धताअनुसार सरकार गठन भएको १७ महिनापछि पर्यटन मन्त्री बनाउनुभएको छ ।

२०२३ भदौ २१ गते उहाँ ताप्लेजुङको साँघु (मैवाखोलागाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभएको थियो । भट्टराई २०३७ सालदेखि कम्युनिष्ट विद्यार्थी (अनेरास्ववियु) आन्दोलनमा जोडिनुभएको थियो । उहाँ २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति बन्नुभएको थियो ।
भट्टराईले विद्यार्थी संगठनको कार्यालय सचिव, प्रचार विभागप्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०

५६ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
उहाँले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउँदै बुधबार नै मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो ।सबै अग्रजको सल्लाहमा अघि बढ्ने उहाँको भनाइ छ ।