झापाका दुइओटा एनसेल टावरमा आगजनीको प्रयास

0
Shares

भद्रपुर(ने.स) । गएराती अज्ञात समूहले झापाका दुइओटा एनसेल कम्पनीको टावरमा आगजनीको प्रयास गरेका छन् । मंगलबार राति ८ देखी १० बजे भित्र अज्ञात समूहले झापाको भद्रपुर र दमकमा रहेको दुई वटा एनसेल टावरमा आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका ३ स्थित गोले चोक र दमक नगरपालिका १ मामा चोकमा रहेको एनसेलको टावरमा आजगजीको प्रयास भएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि भद्रपुरको सम्पूर्ण टावरमा प्रहरी परिचालन गरिएको उहाँले बताउँनुभयो । दमकको मामा चोकमा रहेको टावर बाहिर सानो बम पड्काएको आवाज आएको भएपनि टावर वरिपरि कुनै क्षति नभएको उहाँको भनाइ छ । जिल्लाको एनसेल टावरमा आक्रमणको प्रयास भएपछि जिल्लाभरि प्रहरी परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।

एनसेल कम्पनी बिर्तामोडका इन्जिनियर वीरेन्द्र झाका अनुसार जिल्लाको टावरमध्ये भद्रपुर र दमकमा आक्रमणको प्रयास भएको बताउँनुभयो । आक्रमणकारीले टावरमा क्षति र्पुयाउने प्रयास गरे पनि केही नभएको उहाँको भनाय छ ।

जिल्लाको सम्पूर्ण टावर सुचारु रहेको उहाँले जनाउँनुभयो । नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले यसअघि पटक पटक एनसेल कम्पनीले राज्यको कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका थिए । अहिले झापामा भएको आक्रमणको प्रयास पनि नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।