राष्ट्रिय परिचयपत्र वितरण सुरु

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । नागरिकको वैयत्तिक विवरणलाई सुरक्षित गर्ने उद्देश्यका साथ बुधबारबाट राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जैविक तथा वैयत्तिक विवरण भरेर परिचयपत्र वितरणको सुरुवात गर्नुभएको हो ।

राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पु¥याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुने प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताउनु भयो । ब्यक्तिको राष्ट्रिय पहिचान पत्र, मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्रको उपयोग गर्न सकिने उहाँको भनाइ छ ।

सल्यानमा १ लाख ९९ हजार १ सय ९९ जनाले नागरिकता पाएका छन् । ती सबैलाई क्रमिक रुपमा कार्ड वितरण गरिने उहाँको भनाइ छ ।
ब्यक्तिको पहिचानसम्बन्धी समस्या समाधान गर्न, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका इन्जिनियर राम थापाले बताउनु भयो ।

गैरआवासीय–नेपाली र विदेशीको तथ्यांक यकिन हुने भएकाले पनि परिचय पत्र निकै महत्वपूर्ण हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘यसले दोहोरो परिचय वा नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुने छ ।’
उहाँका अनुसार परिचय पत्रमा व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा–छुट्टै परिचय नम्बर प्रदान गरिने र सोही नम्बरका आधारमा व्यक्तिको पहिचान गरिने छ ।

राष्ट्रिय परिचय पत्र कार्ड बनाउदा अनिवार्य रुपमा नागरिकताको सक्कल चाहिने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनु भयो ।‘यो पत्र स्मार्ट कार्ड जस्तो हुन्छ, जसमा व्यक्तिको सम्पुर्ण विवरण राखिएको हुन्छ’ उहाँले भन्नु भयोे,‘दश अक्षरको परिचय पत्र नम्बर हुन्छ । जसले व्यक्तिलाई चिनाउन मदत पुग्छ ।’