अख्तियारको आँखा परेपछि निजामती कर्मचारी भागाभाग


कृष्णउदास खनाल, वीरगन्ज ।
सरकारी कागजात सहीछाप किर्ते गरेको अभियोगमा भूमिसुधार कार्यालय पर्साका नायब सुब्बा राज महम्मद मन्सुर पक्राउ परेका छन् भने मालपोत कार्यालय पर्साका निलम्बित प्रमुख गमबहादुर विकलगायत ७ जनामाथि सरकारी कागजात सहीछाप किर्ते गरेको अभियोग छ ।

प्रमुख विक अस्थायी ठेगाना वीरगन्जबाट फरार भएकोले उनको स्थायी बासस्थान र सम्भावित स्थलहरूमा खोजतलाश भइरहेको प्रहरी स्रोतले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नासु मन्सुरीलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । सोही अभियोगमा वीरगन्ज भिस्वा निवासी रनु पटेललाई प्रहरीले एक दिन पहिले नै पक्राउ गरेको थियो ।प्रहरी नायब निरीक्षक रामकिशोर यादव नेतृत्वमा प्रहरी चौकी बसपार्क र भिस्वा डाँडाको संयुक्त प्रहरी टोलीले पटेललाई आइतवार भिस्वास्थित निजकै घरबाट पक्राउ गरेको हो ।

विकलगायत भूमिसुधार कार्यालयका तत्कालीन तामेलदार प्राणनाथ कसजु, रनु पटेलका बुबा वीरगन्ज–१५ निवासी नागेश्वर राउत कुर्मी र प्रहरीले नाम खुलाउन नचाहेको अन्य २ समेत ७ जनाविरुद्ध सरकारी कागजात सहीछाप किर्ते मुद्दामा प्रहरीले अनुसन्धान थालेको हो । किटानी अभियुक्तहरूमध्ये दुईजना पक्राउ परेका र बाँकी पाँचजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । विक भूमिसुधार कार्यालय पर्साको प्रमुख छँदा सक्कली मोहीको नाम केरमेट गरी नक्कली मोहीको नाम कायम गरी किर्ते सहीछापसमेत गरेर नक्कली मोहीलाई मोहियानी हक उपलब्ध गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।

साबिक जिल्ला बारा, नकटुवा गाविस–२ को कि.नं. ५६ को १० कट्ठा जग्गा, साबिक नगवा गाविस–५ कि.नं. ११२ को ९ कट्ठा १० धुर र कि.नं. २१३ को ५ कट्ठा ५ धुर जग्गाको सक्कली मोही सितम राउतको नाम केरमेट गरी नक्कली मोही नागेश्वर राउतका पिता स्व. भोला राउतको नाम कायम गरी जग्गा बाँडफाँड गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।